काठमाडौँ । खराब मौसम र कम भिजिबिलिटीका कारण आज आन्तरिक हवाई उडान प्रभावित भएका छन्। पहाडी तथा तराईका केही गन्तव्यमा मौसम प्रतिकूल भएपछि उडान तालिका प्रभावित भएको हो।
बुद्ध एयरका अनुसार कम भिजिबिलिटीका कारण भरतपुर र तुम्लिङटार विमानस्थल अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन्। मौसममा सुधार भई भिजिबिलिटी पर्याप्त नबढेसम्म ती गन्तव्यमा उडान सञ्चालन गर्न नसकिने कम्पनीले जनाएको छ।
यता पोखरा विमानस्थलको भिजिबिलिटी भने क्रमिक रूपमा सुधार हुँदै गएको बुद्ध एयरले जनाएको छ। भिजिबिलिटीमा थप सुधार आएपछि पोखराका उडान नियमित हुने अपेक्षा गरिएको छ।
मौसम प्रतिकूल रहेकाले आजका लागि तय गरिएका सबै माउन्टेन उडान पनि रद्द भएका छन्। कम भिजिबिलिटीका कारण हिमाल देख्न नसकिने तथा उडान जोखिमपूर्ण हुने भएकाले माउन्टेन फ्लाइट रद्द गरिएको कम्पनीले स्पष्ट पारेको छ।












