काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङसहितका जिल्लामा सडक तथा पुलमा ठूलो क्षति पुगेपछि अझै पनि सडक सम्पर्क सहज हुन सकेको छैन ।
बाढी आएको एक महिना पुग्न लाग्दा प्रभावित क्षेत्रका स्थानीय त्रिशूली वारपार गर्न वैकल्पिक सडक प्रयोग गर्न तथा कतिपय स्थानमा घण्टौँ पालो पर्खेर तुइनबाट नदी पार गर्न बाध्य छन् ।
सरकारको प्रारम्भिक विवरणअनुसार बाढीबाट ३७ वटा मोटरेबल पुलमा क्षति पुगेको छ । त्यसमध्ये ३३ वटा पुल पूर्ण रूपमा बगेका छन् भने ४ वटा पुलमा आंशिक क्षति पुगेको छ ।
पूर्ण रूपमा बगेका पुलमध्ये नुवाकोटमा १४, रसुवामा १३, धादिङमा ५ र गोरखामा एउटा छन् । मोटरेबल पुलमा मात्रै ९ अर्ब ४१ करोड ४४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । त्यस्तै, बाढीले ६८ वटा झोलुङ्गे पुलमा पनि क्षति पुर्याएको छ । झोलुङ्गे पुलतर्फ मात्रै १ अर्ब ९३ करोड ६७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
पुल तथा सडक बगाउँदा स्थानीयको आवतजावत मात्रै प्रभावित भएको छैन । खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको ढुवानी, बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउने र विद्यार्थीलाई विद्यालय आवतजावत गर्नसमेत समस्या भएको छ ।
बाढी प्रभावित क्षेत्रमा सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म स्थानीयले वैकल्पिक बाटो र अस्थायी संरचनाकै भरमा आवतजावत गर्नुपर्ने अवस्था छ ।









0.9.142








