काठमाडौँ । बारामा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु भएको छ। घटनामा अन्य चारजना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता मीनबहादुर घलेका अनुसार कोल्हवी नगरपालिका–३ जुगुवा टोलका श्याम रामका १० वर्षीय छोरा आकाशको करेन्ट लागेर मृत्यु भएको हो।
घरमा टेलिभिजन चलाउने क्रममा बिजुलीको तार सर्ट भएर करेन्ट लाग्दा आकाश गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। तर, चिकित्सकले इसिजी परीक्षण गर्दा अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको जानकारी दिएका थिए।
करेन्ट लागेका बालकलाई छुटाउने क्रममा उनकी ७० वर्षीया हजुरआमा ऐतबरिया देवी, १२ वर्षीया दिदी निलम, छिमेकी ४० वर्षीया फूलकुमारी राम र ४१ वर्षीया अनिता शर्मा पनि घाइते भएका छन्।
घाइतेमध्ये ऐतबरिया देवी, फूलकुमारी राम र अनिता शर्माको कोल्हवीस्थित तामागढी अस्पतालमा उपचार भइरहेको छ। निलमको भने कोल्हवीस्थित सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।








