काठमाडौं । चितवन प्रशासनले नारायणगढ–पोखरा सवारी आवागमन खुला गरेको छ ।
नारायणगढ–मुग्लिन सडखण्डमा झरेको पहिरो हटाएर पोखरातर्फको यात्रा खुला गरिएको हो । आज मध्याह्नदेखि नारायणगढबाट पोखराका लागि सवारी साधनहरु जान थालेका छन् ।
तर नारायणगढ–काठमाडौंको यात्रा भने बन्द नै गरिएको छ । पृथ्वी राजमार्गको धादिङ खण्डका विभिन्न ठाउँमा पहिरो झरेकाले नारायणगढबाट मुग्लिन हुँदै काठमाडौंतर्फ आउ–जाउ गर्न रोक लगाइएको छ ।
वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा सात ठाउँमा पहिरो झरेको प्रहरीले जनाएको छ । कतिपयप ठाउँमा पहिरो पन्छाइसकिएको र कतिपय ठाउँमा पन्छाउने काम जारी रहेको धादिङ प्रहरीले जनाएको छ ।







