काठमाडौं । पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लाको स्याउ बाटोमै रोकिएको छ । जुम्लाबाट स्याउ बोकेर आएका ४० देखि ४२ वटा गाडीमा रहेको झन्डै साढे २ करोड रुपैयाँ बराबरको स्याउ बाटोमै रोकिएको हो ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार सेरावाडामा १४–१५ वटा, भिग्ममा सात वटा र हुल्ममा २० वटा स्याउ बोकेका गाडी सडक अवरुद्ध हुँदा रोकिएका छन् । ती गाडीमा ढुवानी गरिएको स्याउको मूल्य करिब २ करोड ५० लाख रुपैयाँ बराबर रहेको बताइएको छ ।
स्याउ बोकेका गाडी बाटोमै रोकिँदा किसान स्याउ कुहिने डरमा छन् ।
सोमबारदेखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालिकोट–दैलेख सडक खण्डका विभिन्न स्थानमा पहिरो जाँदा दुई दिनदेखि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध छ ।








