काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु विपद्को सामना गर्न नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्न प्रस्ताव गरेका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई शुक्रबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिमालय क्षेत्रमा जलवायुजन्य विपद्को जोखिम बढिरहेको भन्दै यस्तो संयन्त्र आवश्यक रहेको बताएका हुन्।
उनले हिमालय क्षेत्र करिब २ अर्ब मानिसको आश्रयस्थल हुनुका साथै पृथ्वीको जीवन प्रणालीका लागि महत्वपूर्ण रहेको उल्लेख गरे। प्रस्तावित संयन्त्रमार्फत भूउपग्रहको तथ्यांक आदानप्रदान, खतरनाक हिमतालको संयुक्त अनुगमन तथा पूर्वचेतावनी प्रणालीलाई थप सुदृढ गर्नुपर्नेमा उनले जोड दिए।
प्रधानमन्त्री शाहले विपद्का बेला सीमापार समन्वयलाई प्रभावकारी बनाउनुपर्ने बताए। हिमालय क्षेत्रलाई खण्डित सूचनाको सिमाना नभई अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशाला बनाउनुपर्ने उनको भनाइ थियो।







