काठमाडौं । एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच दिगो तथा जलवायु विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।
यस साझेदारीले नेपालमा हरित तथा जलवायु वित्त क्षेत्रलाई थप प्रभावकारी बनाउन विज्ञानमा आधारित ज्ञान, समाधान र वित्तीय अवसरलाई जोड्ने लक्ष्य राखेको छ।
सहकार्यअन्तर्गत इसिमोडको अनुसन्धान, प्राविधिक ज्ञान तथा क्षमता विकाससम्बन्धी अनुभवलाई एनएमबि बैंकको वित्तीय क्षेत्रको विशेषज्ञतासँग जोडिनेछ।

यसबाट वातावरण संरक्षण, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलता बढाउने दिगो परियोजना र लगानीका अवसर पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एनएमबि बैंकले दिगो तथा हरित बैंकिङलाई प्राथमिकता दिँदै वातावरणमैत्री र जिम्मेवार वित्तीय अभ्यासलाई निरन्तर अघि बढाउँदै आएको जनाएको छ।
बैंक र इसिमोडबीचको यो साझेदारीले विज्ञान, वित्त र दिगो विकासबीचको सहकार्यलाई थप मजबुत बनाउँदै नेपालमा दीर्घकालीन तथा वातावरणमैत्री आर्थिक विकासमा योगदान पुर्याउने विश्वास लिइएको छ।







