काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ तथा वितरणलाई सहज बनाउन सरकारका तीन निकायबीच त्रिपक्षीय सम्झौता भएको छ।
सम्झौतासँगै अब सेवाग्राहीले सम्बन्धित यातायात कार्यालयबाट मात्र नभई आफूले चाहेको ठेगानामा लाइसेन्स प्राप्त गर्न सक्ने भएका छन्।पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार मंगलबार पूर्वाधार विकास मन्त्रालयमा यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार यातायात व्यवस्था विभागले सञ्चालन गर्दै आएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (EDLVRS) बाट जारी हुने लाइसेन्सको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा पठाइनेछ। प्राप्त डाटाका आधारमा सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छपाइ गर्नेछ।
यस व्यवस्थाले लाइसेन्सको डाटा आदानप्रदानमा लाग्ने समय घटाउनुका साथै विगतमा देखिँदै आएका प्राविधिक झन्झट कम हुने अपेक्षा गरिएको छ।
सुरक्षण मुद्रण केन्द्रमा छपाइ भएका लाइसेन्स हुलाक सेवा विभागमार्फत सम्बन्धित प्रदेश कार्यालयमा पठाएर वितरण गरिनेछ। साथै, सेवाग्राहीले चाहेमा आफूले दिएको ठेगानामै लाइसेन्स पुर्याउने व्यवस्था पनि सम्झौतामा गरिएको छ।
यससँगै लाइसेन्स छपाइदेखि वितरणसम्मको प्रक्रियालाई थप व्यवस्थित बनाउने र सेवाग्राहीले लाइसेन्स प्राप्त गर्न कार्यालय धाउनुपर्ने झन्झट कम गर्ने सरकारको लक्ष्य छ।






