काठमाडौं । जापानको राजधानी टोकियोसहित पूर्वी क्षेत्रमा शक्तिशाली टाइफुन ‘डुजुआन’ को प्रभाव बढ्दै गएको छ। भारी वर्षा, तीव्र हावा र पहिरोको जोखिम बढेपछि जापानी अधिकारीहरूले विभिन्न क्षेत्रमा उच्च सतर्कता अपनाएका छन्।
जापानको मौसम विज्ञान एजेन्सीका अनुसार टाइफुन चिबा प्रिफेक्चरको बोसो प्रायद्वीप हुँदै सोमबार साँझदेखि रातिसम्म टोकियोको पूर्वी क्षेत्रमा नजिकबाट गुज्रने अनुमान गरिएको छ। कान्तो र आसपासका क्षेत्रमा भारी वर्षा तथा तीव्र हावाले अवस्था थप बिग्रन सक्ने चेतावनी दिइएको छ।
टाइफुनको केन्द्रमा अधिकतम हावाको गति करिब १४४ किलोमिटर प्रतिघण्टा पुगेको छ भने झोक्का करिब १९८ किलोमिटर प्रतिघण्टा सम्म पुगिरहेको मौसम निकायले जनाएको छ। केही क्षेत्रमा २४ घण्टामा ३०० मिलिमिटरसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
सयौँ उडान रद्द, रेल सेवा प्रभावित
टाइफुनका कारण जापानको यातायात सेवा प्रभावित भएको छ। सोमबार कम्तीमा २७५ उडान रद्द भएका छन्। जापान एयरलाइन्सले १२० आन्तरिक र १५ अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ भने एएनएले १४० आन्तरिक उडान प्रभावित पारेको छ।
टोकियोसहित आसपासका केही रेल सेवा पनि स्थगित भएका छन्। चिबा र इबाराकीका केही रेलमार्गमा सेवा रोकिएको छ भने टोकियो–ओसाका जोड्ने तोकाइदो शिन्कान्सेनमा समेत ढिलाइ वा रद्द हुनसक्ने चेतावनी दिइएको छ।
एसियाली खेलकुद पनि प्रभावित
टाइफुनको प्रभाव २०औँ एसियाली खेलकुदमा समेत परेको छ। आइची–नागोयामा सोमबार हुने तय भएको घोडचढी प्रतियोगिता खराब मौसमका कारण स्थगित गरी मंगलबारका लागि सारिएको छ। जापान ओलम्पिक कमिटीले मौसमको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको छ।
टाइफुनका कारण टोकियो गेम शोको सोमबारको कार्यक्रमसमेत रद्द गरिएको छ। चिबामा आयोजना हुने अन्य सांस्कृतिक तथा खेलकुद कार्यक्रम पनि प्रभावित भएका छन्।
प्रधानमन्त्रीको अमेरिका भ्रमणमा पनि ढिलाइ
टाइफुनको प्रभाव जापानी प्रधानमन्त्री साने ताकाइचीको अमेरिका भ्रमणमा समेत परेको छ। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जाने उनको उडान करिब चार घण्टा ढिला भएको रोयटर्सले जनाएको छ।
जापानी अधिकारीहरूले नागरिकलाई नदी, तटीय क्षेत्र तथा बाढी–पहिरोको जोखिम भएका स्थानबाट टाढा रहन र स्थानीय प्रशासनले जारी गरेका सुरक्षित स्थानमा जाने निर्देशन पालना गर्न आग्रह गरेका छन्।






