काठमाडौँ। रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको पठनपाठन पुनः सञ्चालन हुन थालेको छ। विद्यालयका भवन क्षतिग्रस्त भएका ठाउँमा मर्मत तथा अस्थायी सिकाइ केन्द्र (टीएलसी) निर्माण गरेर कक्षा सञ्चालन गरिएको हो।

नुवाकोटको विदुर नगरपालिकामा असोज १ गतेदेखि बाढी प्रभावित विद्यार्थीको पठनपाठन सुरु गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ। आंशिक क्षति भएका विद्यालय मर्मत गरेर तथा पूर्ण रूपमा क्षति भएका विद्यालय क्षेत्रमा अस्थायी सिकाइ केन्द्र बनाएर कक्षा सञ्चालन गरिएको विद्यालय निरीक्षक नवराज सापकोटाले जानकारी दिए।

ADVERTISEMENT

उनका अनुसार विदुर नगरपालिकामा मात्रै करिब ३ हजार ५ सय विद्यार्थी बाढीका कारण पठनपाठनबाट प्रभावित भएका थिए। विद्यार्थीलाई विद्यालयमा फर्काउनेसँगै मनोसामाजिक परामर्शसमेत दिइएको उनले बताए।

ADVERTISEMENT

रसुवाको उत्तरगया गाउँपालिकामा भने भदौ २४ गतेदेखि अधिकांश विद्यालयमा पठनपाठन सुरु भएको छ। गाउँपालिकाका शिक्षा शाखा प्रमुख बोधराज पाठकका अनुसार एउटा विद्यालयबाहेक अन्य विद्यालयमा कक्षा सञ्चालन भइरहे पनि विद्यार्थीको उपस्थिति न्यून छ।

बाढीले पूर्ण रूपमा बगाएको विद्यालय रहेको क्षेत्रमा विद्यार्थीलाई अन्य विद्यालयमा स्थानान्तरण गरेर पढाउने व्यवस्था गरिएको छ। गणेश आधारभूत विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन भइरहेकाले त्यहाँको पठनपाठनबारे थप छलफल भइरहेको गाउँपालिकाले जनाएको छ।

ADVERTISEMENT

उत्तरगया गाउँपालिकामा रहेका १७ सामुदायिक र एक निजी विद्यालयमध्ये बाढीले दुई सामुदायिक र एक निजी विद्यालय पूर्ण रूपमा बगाएको प्रारम्भिक विवरण छ। त्यहाँ १३४ विद्यार्थी सम्पर्कविहीन रहेको तथा १० जना शिक्षकसमेत बाढीमा परेको विवरण स्थानीय तहले दिएको छ।

यस्तै, ११७ बालबालिका अभिभावकविहीन भएको गाउँपालिकाले जनाएको छ। उनीहरूमध्ये केहीलाई आफन्तले काठमाडौं लगेका छन् भने केहीलाई स्थानीय अन्य विद्यालयमा पढाउने व्यवस्था गरिएको छ। प्रभावित बालबालिकालाई मनोसामाजिक परामर्शसमेत दिइँदै आएको छ।

तीन जिल्लाका विद्यालयमा ठूलो क्षति

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदनअनुसार रसुवा, नुवाकोट र धादिङका १८ विद्यालयमा बाढीबाट क्षति पुगेको छ। तीमध्ये ११ विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् र करिब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति आकलन गरिएको छ।

प्रतिवेदनअनुसार प्रभावित १८ विद्यालयका ५६ भवनमा क्षति पुगेको छ। १५२ कोठामा आंशिक र १५६ कोठामा पूर्ण क्षति भएको विवरण छ।

नुवाकोटको विदुर नगरपालिकामा सबैभन्दा बढी भौतिक क्षति देखिएको छ। यहाँका नौ विद्यालयका ३२ भवन प्रभावित भएका छन्। ती विद्यालयका ६१ कोठामा आंशिक र ८९ कोठामा पूर्ण क्षति पुगेको छ।

रसुवाको उत्तरगया गाउँपालिकाका तीन विद्यालयका ६ भवनका ३६ कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। धादिङको गल्छी र बेनिघाट रोराङ गाउँपालिकाका विद्यालयमा समेत भवन तथा कक्षाकोठामा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।

पछिल्ला सरकारी तथा संयुक्त स्थलगत अध्ययनहरूले भने भोटेकोशी बाढीबाट तीन जिल्लाको शिक्षा क्षेत्रमा क्षतिको दायरा प्रारम्भिक विवरणभन्दा ठूलो रहेको देखाएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयको पछिल्लो अध्ययनमा ६३ शिक्षण संस्थाका करिब १४ हजारभन्दा बढी बालबालिकाको पठनपाठन प्रभावित भएको उल्लेख छ।

काठमाडौंमा १३२ बालबालिकाको पढाइ जारी

भोटेकोशी बाढीबाट विस्थापित भएर काठमाडौंमा आश्रय लिइरहेका १३२ बालबालिकाका लागि काठमाडौं महानगरपालिकाले पठनपाठनको व्यवस्था गरेको छ। उनीहरूलाई नागार्जुनस्थित पहेँलो गुम्बाबाट डल्लु आवास क्षेत्रको गीतामाता माध्यमिक विद्यालयमा अध्ययन गराउन थालिएको हो।

महानगरपालिकाले विद्यार्थीलाई पुस्तक तथा दिवा खाजाको व्यवस्था गरेको छ। करुणा फाउन्डेसनले विद्यालय पोशाक, झोला, जुत्ता तथा शैक्षिक सामग्री उपलब्ध गराएको छ भने मनोसामाजिक परामर्शसमेत प्रदान गरिएको छ।

आश्रयस्थलबाट विद्यालयसम्म विद्यार्थीलाई ल्याउन–लैजान एलआरआई स्कुलले सवारीसाधन उपलब्ध गराएको महानगरपालिकाले जनाएको छ।

गीतामाता विद्यालयमा भने हाल ६० जना बालबालिका नियमित रूपमा अध्ययनका लागि पुगेका छन्। महानगरको सम्पर्कमा रहेका १३२ बालबालिकालाई विद्यालयमा जोड्ने प्रक्रिया जारी रहेको विद्यालयले जनाएको छ।

बाढीले विद्यालय, घर र आफन्त गुमाएका बालबालिकाको पढाइलाई निरन्तरता दिन अस्थायी सिकाइ केन्द्र, वैकल्पिक विद्यालय तथा मनोसामाजिक सहयोगलाई प्राथमिकता दिइएको छ।