काठमाडौं । जापानी इन्सेफलाइटिस (जेई) संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार देशभर १२१ जनामा जेई संक्रमण पुष्टि भएको छ।

महाशाखाका अनुसार हालसम्म ७ प्रदेशका ३६ जिल्लामा जेईका संक्रमित भेटिएका छन् भने १ हजार २२६ जनामा जेईको लक्षण देखिएको छ।

ADVERTISEMENT

पछिल्लो तीन दिनमा मात्रै थप चार जनामा संक्रमण पुष्टि भएको छ। यही अवधिमा रोल्पा र तनहुँमा एक–एक जनाको मृत्यु भएको महाशाखाले जनाएको छ। हाल ५६ जना संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन्।

ADVERTISEMENT

खोप नलगाएकामा जोखिम बढी

महाशाखाको खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार संक्रमितमध्ये ८५ प्रतिशतले जेईविरुद्धको खोप नलगाएको पाइएको छ। मृत्यु भएका सबैले जेईविरुद्धको खोप नलगाएको तथ्याङ्कले देखाएको छ।

मृत्यु हुनेमध्ये ७७ प्रतिशत ५० वर्षभन्दा माथिका रहेको डा. गौतमले जानकारी दिए।

ADVERTISEMENT

कोशीमा सबैभन्दा धेरै मृत्यु

प्रदेशगत तथ्याङ्कअनुसार जेई संक्रमणबाट सबैभन्दा धेरै मृत्यु कोशी प्रदेशमा १० जनाको भएको छ।मधेश प्रदेशमा ६, लुम्बिनीमा ५, सुदूरपश्चिममा ३ तथा बागमती र गण्डकी प्रदेशमा १–१ जनाको मृत्यु भएको छ।स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको टोकाइबाट बच्न, घरवरपर सरसफाइ कायम राख्न र जेईविरुद्धको खोप लगाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

किसान र तराई क्षेत्र बढी प्रभावित

नेपालको पूर्वी भागबाट देखिन थालेको जेई संक्रमण पछिल्लो समय पश्चिमी क्षेत्रतर्फ समेत फैलिँदै गएको छ। संक्रमितमध्ये ठूलो हिस्सा तराईका जिल्लामा भेटिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

धान खेत तथा सुँगुर वा बङ्गुरपालन क्षेत्र आसपास बसोबास गर्नेहरूमा संक्रमणको जोखिम बढी देखिएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिकामा जेईको प्रकोपसमेत घोषणा गरिएको छ। जेई लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गम्भीर मस्तिष्क संक्रमण हो। संक्रमित चराचुरुङ्गी तथा सुँगुरबाट लामखुट्टेमा भाइरस पुगेपछि मानिसमा संक्रमण फैलिन सक्छ। नेपालमा यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिने गरेको छ।