काठमाडौँ । काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले साझा यातायातले शनिबारदेखि ६ वटा रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ ।

संविधान दिवसको अवसर पारेर कम्पनीले हाल सञ्चालनमा रहेको रात्रिकालीन सेवालाई चार गुणाले विस्तार गरेको हो । काठमाडौँ महानगरपालिका र साझा यातायातको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि सुरु गरिएको रात्रिकालीन सेवाको प्रभावकारिता र विस्तारका लागि महानगरपालिकाले एक विशेष कार्यदल गठन गरेको थियो ।

ADVERTISEMENT

सुरुवाती तीन महिना (वैशाख–असार) मा ७ वटा विद्युतीय बसमार्फत २ वटा रुटमा मात्र सेवा सञ्चालन गरिएको थियो । सोही सेवाको प्रभाव र विस्तारबारे अध्ययन गर्न गठित कार्यदलले हालै आफ्नो प्रतिवेदन कार्यवाहक मेयर सुनिता डंगोलसमक्ष बुझाएको थियो ।

ADVERTISEMENT

महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित सो समितिमा महानगरपालिकाका वरिष्ठ लेखा अधिकृत विपुल तिवारी, सिभिल इञ्जिनियर आँचल आचार्य, साझा यातायातका सहायक प्रबन्धक इञ्जिनियर जनक रिसाल र यातायात व्यवस्थापन अधिकृत शंकर बस्याल सदस्यका रूपमा रहेका थिए ।

अध्ययन समितिको सिफारिसका आधारमा रात्रिकालीन यातायात सेवाको दायरा थप गरिएको हो ।

ADVERTISEMENT