काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली नदीको बहाव बढ्दा नुवाकोटको तारकेश्वर गाउँपालिकाअन्तर्गत तारुकाघाट र दर्शनटार क्षेत्रमा नदी कटान तीव्र भएको छ। कटानका कारण दर्जनौँ घर जोखिममा परेका छन् भने केही घर आंशिक रूपमा बगिसकेका छन्।
त्रिशूली नदीले बस्ती नजिकैको जमिन तथा खेतबारी कटान गर्न थालेपछि स्थानीयमा घरबार नै बग्ने त्रास बढेको छ। नदीको बहाव बढ्दै जाँदा कटान बस्ती र खेतीयोग्य जमिनतर्फ फैलिँदै गएको स्थानीयले बताएका छन्।
धादिङको गल्छी हुँदै नुवाकोटको देवीघाटधाम पुग्ने सडक आसपाससमेत नदी कटानको प्रभाव देखिएको छ। नदी किनारमा रहेका घर, खेतबारी तथा अन्य संरचना जोखिममा परेका छन्। कटान रोक्न तत्काल तटबन्ध निर्माण तथा नदी किनार संरक्षणका काम अघि बढाउनुपर्ने स्थानीयको माग छ।
बाढीपछि नदीमा थुप्रिएको ढुंगा, बालुवा तथा माटोका कारण कतिपय स्थानमा नदीको धारसमेत परिवर्तन भएको छ। नदीको धार परिवर्तन हुँदा कटानको जोखिम थप बढेको स्थानीयको बुझाइ छ।
स्थानीयले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने र नदी नियन्त्रणका लागि दीर्घकालीन योजना बनाउनुपर्ने माग गरेका छन्। तत्काल कटान नियन्त्रणका उपाय नअपनाए थप घर तथा खेतीयोग्य जमिन प्रभावित हुन सक्ने स्थानीयको चिन्ता छ।







