काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि देशभर अभियान सञ्चालन गर्ने बताएका छन्।
कांग्रेसभित्र गगन थापा र शेरबहादुर देउवा पक्षले आ–आफ्नै महाधिवेशनको तयारी गरिरहेका बेला कोइरालाले आफूले कुनै पक्षको आरोप–प्रत्यारोप नगरी पार्टी एकताका लागि पहल गर्ने बताएका हुन्। पछिल्लो समय कांग्रेसभित्र छुट्टाछुट्टै महाधिवेशनको तयारी भइरहेको विषय सार्वजनिक भएको छ।
बिहीबार जारी विज्ञप्तिमार्फत कोइरालाले पार्टी एकताको अभियान लिएर गाउँ–गाउँ पुग्ने बताएका छन्। उनले कांग्रेस एकताबद्ध प्रयासबाट मात्रै सम्भव हुने उल्लेख गर्दै सबै तहका नेता तथा कार्यकर्तालाई अभियानमा जुट्न आग्रह गरेका छन्।
कोइरालाले आफू कसैप्रति आरोप–प्रत्यारोप गर्न नचाहेको उल्लेख गर्दै पार्टीलाई एकताबद्ध बनाउन सबैको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।
उनले कांग्रेसको एकता र राष्ट्र निर्माणलाई अलग रूपमा हेर्न नसकिने भन्दै गाउँ–टोलदेखि केन्द्र तथा विदेशमा रहेका कांग्रेसका नेता–कार्यकर्तासँग संवाद गर्दै एकताका लागि पहल गरिरहने बताएका छन्।
यसअघि पनि कोइरालाले कांग्रेसभित्रको विवाद समाधान र पार्टीलाई एकताबद्ध बनाउने विषयमा विभिन्न पक्षका नेताहरूसँग छलफल गर्दै आएका थिए।






