काठमाडौँ । अग्रगामी मोर्चा निकट अग्रगामी युवा मोर्चाले मूल्यवृद्धि नियन्त्रण तथा खाना पकाउने ग्यासको सहज आपूर्तिको माग गर्दै सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ।

मंगलबार आम जनता पार्टी (आजपा)को काठमाडौंस्थित कार्यालयमा बसेको मोर्चाको बैठकले असोज ६ गते नेपाल आयल निगमको काठमाडौंस्थित केन्द्रीय कार्यालय घेराउ गर्ने निर्णय गरेको हो।

ADVERTISEMENT

मोर्चाले लामो समयदेखि एलपी ग्यासलगायत दैनिक उपभोग्य वस्तुको अभाव र मूल्यवृद्धि भइरहे पनि बजार अनुगमन प्रभावकारी नभएको आरोप लगाएको छ। उसले बजार मूल्य नियन्त्रण गर्दै अत्यावश्यक वस्तुको सहज र सर्वसुलभ उपलब्धता सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

ADVERTISEMENT

मोर्चाले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारसमक्ष मूल्यवृद्धि नियन्त्रण, ग्यास तथा पेट्रोलियम पदार्थको सहज आपूर्ति, विपद् प्रभावितको उद्धार–राहत, भ्रष्टाचार तथा प्रशासनिक ढिलासुस्ती अन्त्य र वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण लगायतका माग अघि सारेको छ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै मोर्चाले तीनै तहका सरकारबीच पर्याप्त समन्वय नहुँदा उद्धार तथा राहत प्रभावकारी हुन नसकेको आरोप लगाएको छ। विपद् प्रभावितलाई तत्काल एकीकृत समन्वयमार्फत उद्धार, उचित राहत र स्थायी पुनर्स्थापना गर्नुपर्ने उसको माग छ।

ADVERTISEMENT

यस्तै, स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न, वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा बिचौलियाको सञ्जाल नियन्त्रण गर्न र सुशासन कायम गर्न पनि मोर्चाले सरकारको ध्यानाकर्षण गराएको छ।

आफ्ना माग तत्काल सम्बोधन नभए देशव्यापी रूपमा सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी मोर्चाले दिएको छ।