काठमाडौं । जेन–जी आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा मंगलबार काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा दीप प्रज्वलन गरिएको छ।
आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झना तथा घाइतेहरूको सम्मानमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङसहित ठूलो संख्यामा युवा, सर्वसाधारण, घाइते तथा शहीद परिवारका सदस्य सहभागी भएका थिए।
कार्यक्रममा सहभागीहरूले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै दीप प्रज्वलन गरेका थिए। केहीबेर मौनधारण गर्दै शहीदहरूप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरिएको थियो।
सरकारले भदौ २३ गतेलाई जेन–जी शहीद दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार देशभर विभिन्न स्मृति तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो। दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदासमेत दिएको छ।
गत वर्ष भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार, बेथिति र सुशासनको अभावलगायत विषय उठाउँदै जेन–जी पुस्ताका युवाले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरतर्फ प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा सुरक्षा निकाय र आन्दोलनकारीबीच झडप हुँदा ठूलो मानवीय क्षति भएको थियो।
भदौ २४ गते आन्दोलन थप उग्र बनेपछि देशका विभिन्न स्थानमा हिंसात्मक घटना, आगजनी तथा तोडफोडका घटना भएका थिए। त्यसपछिका घटनाले नेपालको तत्कालीन राजनीतिक परिस्थितिमा समेत ठूलो परिवर्तन ल्याएको थियो।
आन्दोलनको एक वर्ष पूरा हुँदा पनि सुशासन, जवाफदेहिता, पारदर्शिता, संस्थागत सुधार र डिजिटल अधिकारलगायत जेन–जी आन्दोलनका प्रमुख मुद्दाको कार्यान्वयनबारे बहस जारी छ।
दीप प्रज्वलन कार्यक्रममा सहभागी शहीद परिवार तथा घाइतेहरूले आन्दोलनमा ज्यान गुमाएका र घाइते भएकाहरूको योगदानको सम्मान गर्दै घटनाको निष्पक्ष छानबिन तथा आन्दोलनका क्रममा उठाइएका माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।







