काठमाडौँ — काठमाडौँ-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाअन्तर्गत निर्माण भइरहेको सबैभन्दा लामो महादेवटार सुरुङमार्गको बायाँतर्फको ट्युब सफलतापूर्वक ‘ब्रेक थ्रु’ (छिोलिएको) भएको छ। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको उक्त ३ हजार ४ सय ८६ मिटर लामो सुरुङमार्ग छिोलिएको जानकारी आयोजनाका इन्जिनियर मङ्गललाल श्रेष्ठले सामाजिक सञ्जालमार्फत दिनुभएको हो। महादेवटारकै ३ हजार ४ सय २२ मिटर लामो दायाँतर्फको सुरुङ पनि ब्रेक थ्रुको नजिक पुगेको छ, जहाँ ३ हजार मिटरभन्दा बढी खन्ने काम सम्पन्न भइसकेको छ। दुवै सुरुङमा खन्ने कामसँगै कङ्क्रिट लाइनिङको कार्यलाई पनि तीव्र रूपमा अगाडि बढाइएको छ।

महादेवटार सुरुङ खण्ड निर्माणको ठेक्का रु २१ अर्ब ६१ करोडमा चाइना स्टेटले पाएको हो। कूल ७० दशमलव ९७९ किलोमिटर लामो राष्ट्रिय गौरवको यस आयोजनामा करिब ११ दशमलव २१ किलोमिटर भाग सुरुङमार्गले ओगट्नेछ, जुन कूल लम्बाइको १५ प्रतिशतभन्दा बढी हो। आयोजनाअन्तर्गत हाल एकैपटक सातवटा सुरुङमार्ग निर्माण भइरहेका छन्। यसअघि धेद्रे र लेन्दँडा सुरुङमार्गको दुवैतर्फका ट्युबहरू २०८१ सालको जेठ, असार र साउन महिनाभित्र छिोलिइसकेका छन् भने तिनमा अहिले लाइनिङको काम जारी छ।

ADVERTISEMENT

यसैगरी चन्द्राम्भीर, देवीचौर, सिसौटार र मौरीभिर क्षेत्रमा पनि सुरुङ निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको छ। आयोजनाको दोस्रो लामो चन्द्राम्भीर सुरुङमार्गमा हालसम्म करिब ३० प्रतिशत खन्ने काम पूरा भइसकेको छ। विसं २०७४ देखि निर्माण सुरु भएको यस द्रुतमार्गमा गत असार मसान्तसम्म ४८ दशमलव ७२ प्रतिशत भौतिक प्रगति हासिल भएको छ भने कुल ९२ अर्ब ६८ करोड रुपैयाँ खर्च भइसकेको छ। मुख्य महादेवटार सुरुङ छिोलिनुलाई द्रुतमार्ग निर्माणको महत्वपूर्ण उपलब्धि मानिएको छ, जसले समग्र आयोजना समयमै सम्पन्न गर्ने दिशामा ठूलो बल पुर्‍याउने अपेक्षा गरिएको छ।

ADVERTISEMENT