काठमाडौं। बुढी गण्डकी हाइड्रोपावर प्रयोजन सम्बन्धमा सम्बन्धित मन्त्रालय तथा निकायका प्रतिनिधिहरूबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ। सभामुख डोल प्रसाद (डीपी) अर्यालको सहभागितामा भएको छलफलमा आयोजनाको निर्माण प्रक्रिया तीव्र बनाउनुपर्नेमा जोड दिइएको छ।

छलफलपछि सभामुख अर्यालले आयोजना कार्यान्वयनलाई तीव्र गतिमा अघि बढाउन आवश्यक कानुन निर्माण तथा संशोधन गर्नुपर्ने बताएका छन्। उनले आयोजनालाई ढिलाइ नगरी अघि बढाउनुपर्ने उल्लेख गर्दै “आयोजना सम्पन्न नगर्नुको विकल्प छैन, अन्यथा सरकारलाई कारण स्पष्ट गर्नुपर्ने हुन्छ” भनेका छन्।

बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुदन गुरुङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल सहित विभिन्न सांसदहरूको उपस्थिति थियो।त्यसैगरी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्ट, विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य पनि बैठकमा सहभागी थिए।

बैठकमा बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियाले आयोजनाको वर्तमान अवस्था, प्रगति र आवश्यकताबारे प्रस्तुतीकरण गरेका थिए।सरकारले आयोजनालाई राष्ट्रिय प्राथमिकतामा राख्दै शीघ्र कार्यान्वयनमा लैजानुपर्ने धारणा सहभागीहरूले व्यक्त गरेका छन्।