काठमाडौं ।  नेपालका बाढी प्रभावित क्षेत्रमा तुरुन्त जडान गर्ने गरी चीन सरकारले एक सय मिटर लम्बाइका दुईवटा बेलीब्रिजका आवश्यक सामग्री हस्तान्तरण गरेको छ । भदौ १० को भोटेकोशी बाढीले क्षति पुर्‍याएका संरचना पुनर्निर्माणका लागि ल्हासास्थित महावाणिज्य दूतावासलाई चीन सरकारले आज सामग्री हस्तान्तरण गरेको हो ।

चीनको तिब्बत स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयसँग नेपालले ३० वटा बेली ब्रिज उपलब्ध गराउन आग्रह गरेबमोजिम पहिलो चरणमा यी दुई बेलीब्रिज प्राप्त भएका हुन्  । चीनको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा शुक्रवार आयोजित एक विशेष समारोहका सामग्री आदानप्रदान सम्झौतामा हस्ताक्षर भएको छ ।

ADVERTISEMENT

नेपालका तर्फबाट ल्हासाका लागि नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र चीनका तर्फबाट तिब्बत स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयका उप–महानिर्देशक ओउयाङ जिबिङले हस्तान्तरण सम्झौतामा हस्ताक्षर गरेका छन् । कार्यक्रममा दुवै तर्फ कूटनीतिक तथा सरकारी अधिकारीहरूको उपस्थिति थियो ।

ADVERTISEMENT

हस्तान्तरण गरिएका बेली ब्रिजका सामग्रीहरू उपल्लो मुस्ताङस्थित कोरला (लिजी) सीमा नाकामा पुगेको महावाणिज्य दुतावासले जनाएको छ । सामग्रीहरू आजै नेपाली पक्षले बुझिलिने छ । पुलको शीघ्र र प्रभावकारी जडान सुनिश्चित गर्न चिनियाँ पक्षले आवश्यक प्राविधिक जनशक्तिसमेत उपलब्ध गराएको छ । चिनियाँ प्राविधिक टोली छिट्टै नेपाल आइपुग्ने जानकारी दिइएको छ ।

प्राप्त सामग्रीहरूमा बेली प्यानल, स्टिफनिङ कर्ड, स्वे ब्रेस, ब्रेस बोल्ट, बेली पिन, डेकिङ प्यानल, स्टिल प्लेट, बिम, च्यानल स्टिल तथा पाइप वेल्डिङका सामानहरू छन् । चीनले बाँकी बेली ब्रिजहरू पनि क्रमशः उपलब्ध गराउँदै जाने बचन दिएको छ ।

ADVERTISEMENT