काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले नेपालको दु:खमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेको उभिएको बताएका छन् । बिहीबार राति फेसबुकमार्फत रसुवा बाढीपछिको घटनाको विवरण दिँदै प्रधानमन्त्री बालेनले वैदेशिक सहायताको प्रशंसा गरेका हुन् ।
‘बाढी आएकै दिनदेखि हामीले मित्रराष्ट्रहरुबाट विभिन्न किसिमको सहयोग प्राप्त गरिरहेका छौं,’ प्रधानमन्त्री बालेनले भनेका छन्, ‘हाम्रो दु:खमा उहाँहरू दरिलो खम्बा बनेर उभिनुभएको छ ।’
पहिलो दिनदेखि छिमेकी राष्ट्र भारतले विभिन्न चरणमा आवश्यक सबै किसिमको सहयोग गरिरहेको प्रधानमन्त्री बालेनले बताएका छन् । ‘भारतले हालसम्म ५ चरणमा ७४ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ । साथै, उद्धारका लागि विज्ञ टोलीहरू पनि प्रभावित क्षेत्रमा खटाइरहेको छ,’ उनले भनेका छन् ।
यस्तै, चीनले नेपाललाई ३० करोड रुपैयाँ र ५० टन राहत सामग्री उपलब्ध गराइसकेको उनले बताएका छन् । ‘नेपाल सरकारले चीनसँग प्रभावित क्षेत्रका लागि ३० वटा बेलीब्रिज सहयोग गर्न अनुरोध गरेको छ,’ प्रधानमन्त्री बालेनले भनेका छन् ।
यस्तै, पाकिस्तानबाट ८६ टन राहत सामग्री प्राप्त भइरहेको पनि उनले जानकारी दिएका छन् । ‘श्रीलंकाले १० लाख अमेरिकी डलरको सहयोगको प्रतिबद्धता जनाएको छ । बंगलादेशले पनि राहत सामग्री पठाउने तयारी गरेको छ,’ उनले भनेका छन्, ‘अमेरिकाबाट ५ लाख अमेरिकी डलर दिने प्रतिबद्धता आएको छ ।’
उता, अष्ट्रेलियाबाट १ मिलियन अमेरिकी डलर (नगद सहयोग) सहयोगको प्रतिबद्धता आएको र विशेषज्ञसहित ड्रोन अपरेटरसहितको टोली चाँडै नेपाल आउने भएको प्रधानमन्त्री बालेनले जानकारी दिएका छन् ।
यस्तै, यूएईले ८३ टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराइसकेको र १० मिलियन डलरसम्मको सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले उल्लेख गरेका छन् । ‘कतारले पनि ४० टन राहत सामग्री उपलब्ध गराएको छ,’ उनले भनेका छन् ।
यस्तै, बेलायतबाट ५ मिलियन पाउण्डले सहयोग गर्ने घोषणा गरेको उल्लेख गर्दै उनले युरोपेली संघअन्तर्गतको नागरिक सुरक्षा र मानवीय सहायता परिचालनले २ मिलियन यूरोको घोषणा भएको जानकारी दिएका छन् ।
यस्तै, स्विट्जरल्याण्डले १ मिलियन अमेरिकी डलर, डेनमार्कले ३५ लाख डेनिस क्रोनर, जर्मनीले २ मिलियन अमेरिकी डलर, आयरल्यान्डले ५ लाख यूरो, चेक रिपब्लिकले २५ लाख चेक कोरुना, नर्वेले १२.७ मिलियन नर्वेजियन क्रोन सहयोगको घोषणा गरिसकेको प्रधानमन्त्री बालेनले जानकारी दिएका छन् ।
‘साथै, फ्रान्सले प्रभावित क्षेत्रका २०० घरपरिवारका लागि आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ । यस्तै, लक्जेम्बर्ग र लाटभियाले पनि राहत सामग्री उपलब्ध गराएका छन्,’ उनले भनेका छन् ।
अझै पनि कतिपय देशहरुले आफूले गर्ने सहयोगको प्रस्ताव गरेका बताउँदै उनले नेपालले आफ्नो आवश्यकताअनुसार सहयोगको प्रस्ताव गरिरहेको जानकारी दिएका छन् ।
‘विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, एसियाली विकास बैंक (एडीबी)बाट बजेटरी सहयोग (अनुदान) का लागि ५ मिलियन अमेरिकी डलर र एडीबीबाटै प्राविधिक सहायताका लागि १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता आएको छ,’ प्रधानमन्त्री बालेनले भनेका छन् ।






