काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका हुन्।
बैंकका अनुसार गत भदौ १० गते बिहान रसुवा भएर बग्ने भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले भोटेकोशी तथा त्रिशूली नदी किनारका बासिन्दालाई ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। बाढीका कारण प्रभावित परिवारको खोजतलास, उद्धार तथा राहतका लागि तत्काल थप सहयोग आवश्यक देखिएको बैंकले जनाएको छ।
विपद्को यस दुःखद् घडीमा प्रभावित नागरिक तथा परिवारलाई सहायता पुर्याउने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उक्त सहयोग उपलब्ध गराएको हो।
चेक हस्तान्तरण कार्यक्रममा प्रभु बैंकका अध्यक्ष किशोर जङ्ग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा. अम्बिका शर्मा लामिछानेको समेत उपस्थिति रहेको थियो।
बैंकले अकल्पनीय विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै, सम्पर्कविहीन तथा घाइते नागरिकको शीघ्र उद्धार र उपचारको कामना गर्दै प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना प्रकट गरेको छ।
प्रभु बैंकले प्राकृतिक विपद्का समयमा प्रभावित समुदायको साथमा उभिँदै राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा आफ्नो सामाजिक उत्तरदायित्वअनुसार सहयोग गर्दै आएको जनाएको छ।






