काठमाडौं । अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित युरोमनी अवार्ड फर एक्सिलेन्सअन्तर्गत प्रभु बैंक लिमिटेड नेपालको उत्कृष्ट डिजिटल बैंकबाट सम्मानित भएको छ । युरोमनी लिमिटेडले हालै सिंगापुरमा आयोजना गरेको समारोहमा प्रभु बैंकलाई सो सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित तीन महिला अधिकृतहरूले संयुक्त रूपमा सम्मान ग्रहण गरेका थिए। प्रभु बैंकले यसअघि पनि बैंक अफ दी एयर २०२३ बाट सम्मानित भई, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो सेवा, नवप्रवर्तन र ग्राहकप्रतिको समर्पणद्वारा सशक्त उपस्थिति जनाइसकेको छ।

ADVERTISEMENT

युरोमनी अवार्ड एक्सिलेन्सअन्तर्गत प्राप्त यस उपाधिले साना तथा मझौला उद्यम (एसएमइएस) लक्षित डिजिटल सेवा प्रवाहमा प्रभु बैंकले खेलेको अग्रणी भूमिकालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको हो। प्रभु बैंकले नवीन प्रविधिको प्रयोग गर्दै ग्राहक केंद्रित डिजिटल समाधान उपलब्ध गराई देशभरका लघु तथा मझौला व्यवसायलाई सरल, सुरक्षित र छरितो बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

पछिल्लो केही वर्षयता बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङ, डिजिटल कर्जा प्रवाह, व्यावसायिक भुक्तानी समाधान, अनलाइन खाता सञ्चालन, कर तथा राजस्व तिर्ने डिजिटल माध्यम, बीमा र वित्तीय परामर्श सेवा जस्ता अत्याधुनिक सेवाहरूको माध्यमबाट एसएमई बैंकिङमा उल्लेखनीय प्रगति गरेको छ। यी सेवाहरूले साना तथा मझौला व्यवसायहरूलाई आधुनिक बैंकिङ प्रणालीसँग जोड्दै उनीहरूको व्यवसाय वृद्धिमा प्रभावकारी सहयोग पु¥याएको बैंकले जनाएको छ ।

ADVERTISEMENT

प्रभु बैंकले आफ्नो सेवा रणनीतिमा एसएमईएसलाई विशेष प्राथमिकता दिँदै ग्राहक आवश्यकताअनुसार अनुकूलित डिजिटल सेवा विकास तथा विस्तारमा निरन्तर नवप्रवर्तन गर्दै आएको छ। यही प्रतिबद्धता र कार्यान्वयनले गर्दा बैंकले अन्तर्राष्ट्रिय समुदायबाट सम्मान प्राप्त गर्ने अवसर पाएको हो।

बैंककी प्रमुख कार्यकारी अधिकृत पन्तले यो उपलब्धि केवल संस्थागत सफलताको प्रमाण नभई, सम्पूर्ण नेपाली उद्यमशीलता समुदायको जित भएको बताइन् । डिजिटल वित्तीय पहुँचमार्फत साना व्यवसायहरूलाई सशक्त बनाउने अभियानमा प्रभु बैंक अझ प्रभावकारी योजना ल्याउने प्रतिबद्धतासहित अघि बढ्ने उल्लेख गर्दै उनले यसले थप जिम्मेवारीसहित साना तथा मझौला उद्यमीहरूलाई प्रेरित गर्ने हौसला प्रदान गरेको धारणा राखिन् ।

हाल प्रभु बैंकले देशभर ३१२ शाखा, ४८ एक्स्टेन्सन काउन्टर, २५६ एटीएम, तथा सशक्त डिजिटल प्लेटफर्ममार्फत आफ्ना सेवा प्रवाह गर्दै आएको छ। डिजिटल नेपाल को राष्ट्रिय अभियानलाई आत्मसात गर्दै बैंकले आगामी दिनमा अझ नविन र व्यापक डिजिटल समाधानहरूसहित साना तथा मझौला व्यवसायहरूलाई दीगो बैंकिङ सेवा उपलब्ध गराउने तयारी गरिरहेको छ।