काठमाडौं — प्रभु बैंक लिमिटेडले पछिल्ला केही सञ्चारमाध्यममा बैंक, सञ्चालक, पदाधिकारी तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित समाचारहरूलाई भ्रामक, एकपक्षीय र आधारहीन भन्दै गम्भीर आपत्ति जनाएको छ।

सोमबार जारी प्रेस विज्ञप्तिमा बैंकले यस्ता समाचारले संस्थागत प्रतिष्ठा, सार्वजनिक विश्वास तथा समग्र वित्तीय प्रणालीमा अनावश्यक भ्रम सिर्जना गरेको उल्लेख गर्दै ती सामग्रीको पूर्ण रूपमा खण्डन गरेको छ।

ADVERTISEMENT

बैंकका अनुसार कर्मचारी सरुवा, कार्य जिम्मेवारीमा हेरफेर, आन्तरिक व्यवस्थापन, कर्जा असुली प्रक्रिया तथा धितो लिलामी सूचना प्रकाशनजस्ता गतिविधि बैंकिङ व्यवसायका नियमित, कानुनसम्मत र संस्थागत अभ्यास हुन्। यस्ता प्रक्रियालाई वास्तविकताभन्दा फरक ढंगले प्रस्तुत गर्नु उचित नहुने बैंकले जनाएको छ।

प्रभु बैंकले विगतमा केही कर्जा फाइलसम्बन्धी विषयमा नियामक निकायबाट अनुसन्धान भएको र केही मुद्दा अदालतमा विचाराधीन रहे पनि नेपाल राष्ट्र बैंकको निर्देशन तथा प्रचलित कानुनअनुसार जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण र सुधारात्मक उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको दाबी गरेको छ। साथै, भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिन थप सुदृढ प्रणाली लागू गरिएको जनाएको छ।

ADVERTISEMENT

बैंकले सञ्चालक समिति तथा व्यवस्थापनका सबै निर्णय सम्बन्धित कानुन, नेपाल राष्ट्र बैंकको निर्देशन र नियामकीय मापदण्डअनुसार हुने उल्लेख गर्दै सुशासन र पारदर्शिताप्रति प्रतिबद्ध रहेको जनाएको छ।

साथै, सञ्चारमाध्यमलाई समाचार प्रकाशन वा प्रसारणअघि सम्बन्धित पक्षबाट तथ्य पुष्टि गर्न आग्रह गर्दै अनुमान, अपुष्ट स्रोत वा एकपक्षीय सूचनाका आधारमा समाचार सम्प्रेषण गर्दा संस्थाको प्रतिष्ठा, सार्वजनिक विश्वास तथा वित्तीय प्रणालीमा नकारात्मक असर पर्न सक्ने जनाएको छ।

बैंकले निक्षेपकर्ता, कर्जाग्राही, शेयरधनी तथा अन्य सरोकारवालालाई बैंकसम्बन्धी जानकारीका लागि आधिकारिक सूचना र विश्वसनीय स्रोतलाई मात्र आधार बनाउन आग्रह गरेको छ। साथै, प्रेस स्वतन्त्रताको सम्मान गर्दै सत्य, निष्पक्ष र तथ्यमा आधारित पत्रकारितालाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।