भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखासहितका क्षेत्रमा आगामी केही दिन वर्षा हुने सम्भावना रहेकाले जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ। विभागका अनुसार प्रभावित पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। लाङटाङ, सिन्धुपाल्चोक तथा गोरखाका माथिल्लो हिमाली भेगमा समेत वर्षा हुन सक्ने मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिनुभयो।

उहाँका अनुसार बाढी प्रभावित क्षेत्रमा पुनः वर्षा हुँदा आकस्मिक बहाव आउन सक्ने भएकाले तल्लो तटीय क्षेत्रका बासिन्दा तथा उद्धारकर्मीले मौसमसम्बन्धी पूर्वसूचनालाई निरन्तर पछ्याउन आवश्यक छ।

ADVERTISEMENT

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भू–भाग र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भने धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

ADVERTISEMENT

वर्षाका कारण गेग्रानसहितको आकस्मिक बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने विभागले जनाएको छ। यसबाट सडक तथा हवाई यातायात, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा उद्धार र राहत कार्य प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकको मेलम्ची–घ्याङमा सबैभन्दा धेरै ८९.६ मिलिमिटर वर्षा भएको छ।