काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाको भोटेकोसी नदीमा बुधबार आएको भीषण बाढीको मुख्य कारण भूकम्पपछि गएको ठूलो पहिरो भएको बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै मन्त्री खनालले बिहान करिब ८ बजेर ४० मिनेटमा भोटेकोसी नदीमा भीषण बाढी आएको जानकारी दिए।

प्राप्त प्रारम्भिक सूचनाअनुसार बिहान ८ बजेर ३७ मिनेटमा भूकम्प गएको र त्यसपछि ठूलो पहिरो खसेर नदी थुनिएका कारण बाढी आएको देखिएको मन्त्री खनालले बताए।

ADVERTISEMENT

‘आज बिहान ८ बजेर ३७ मिनेटमा भूकम्प गएको र त्यसका कारण ठूलो पहिरो खसेर नदी थुनिएपछि बाढी आएको देखिएको छ,’ उनले भने।

ADVERTISEMENT

मन्त्री खनालका अनुसार बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। सरकारले तत्काल उद्धार तथा राहतका लागि आवश्यक पहल सुरु गरिसकेको उनले सदनलाई जानकारी दिए।

ADVERTISEMENT

घटनाको यथार्थ अवस्था बुझ्न सरकारले छिमेकी राष्ट्रहरूसँग समेत समन्वय गरिरहेको मन्त्री खनालले बताए। बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा क्षतिको विवरण संकलनलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।