काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत जाने भएका छन्।
परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार भारतीय विदेशमन्त्री डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खनाल भारत भ्रमणमा जाने भएका हुन्।
भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय समकक्षी जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
भेटमा व्यापार, लगानी, पूर्वाधार तथा कनेक्टिभिटी, ऊर्जा र जनस्तरका सम्बन्धलगायतका आपसी हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
दुवै देशबीच भइरहने उच्चस्तरीय भ्रमण आदानप्रदानकै निरन्तरताका रूपमा यो भ्रमणलाई हेरिएको मन्त्रालयले जनाएको छ। यसबाट नेपाल-भारतबीचको दीर्घकालीन र बहुआयामिक सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ। परराष्ट्रमन्त्री खनाल आइतवार स्वदेश फर्कने कार्यक्रम छ।
शुक्रबार नै रास्वपा सभापति रवि लामिछाने स्वदेश फर्किने भएका छन् । उनी पाँच दिने भारत भ्रमणका क्रममा हाल नयाँ दिल्लीमा छन् । रविले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाहलगायतसँग भेछवार्ता गरेका थिए । खनालको भारत भ्रमणमा द्विपक्षीय सम्झौता हुनसक्ने बताइएको छ ।








