काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डपमा आजदेखि १८औँ संस्करणको नाडा अटो शो–२०२६ सुरु हुँदैछ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ वार्षिकोत्सव अर्थात् स्वर्ण जयन्तीको अवसरमा यसपटक अहिलेसम्मकै ठूलो मोबिलिटी प्रदर्शनी आयोजना गर्न लागेको हो।
आयोजकका अनुसार प्रदर्शनीमा २०० भन्दा बढी स्टल र १५० भन्दा धेरै ब्रान्डको सहभागिता रहनेछ। अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ–नयाँ प्रविधि, विद्युतीय सवारीसाधन तथा मोबिलिटीसम्बन्धी उत्पादन प्रदर्शनीका मुख्य आकर्षण रहनेछन्।
प्रदर्शनीमा २३ वटा चारपाङ्ग्रे यात्रुवाहक सवारी ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक सवारी ब्रान्ड र १३ वटा दुईपाङ्ग्रे ब्रान्डको प्रत्यक्ष सहभागिता रहनेछ।
यस्तै, पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरणसँग सम्बन्धित करिब ७० कम्पनीको सहभागिता रहनेछ। बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका १० वटा संस्थाले पनि प्रदर्शनीमा सहभागिता जनाउने नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिएका छन् ।
२०३२ सालमा स्थापना भएको नाडाले ५० वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको यो प्रदर्शनीलाई नेपालकै ठूलो मोबिलिटी प्रदर्शनीका रूपमा प्रस्तुत गरिएको छ।
यसअघि साउनको अन्तिम साता काठमाण्डौकै भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पो आयोजना भएको थियो। दुई ठूला अटोमोबाइल प्रदर्शनी छोटो समयको अन्तरालमा आयोजना हुनुलाई नेपाली अटोमोबाइल बजारमा बढ्दो प्रतिस्पर्धा र नयाँ प्रविधिप्रतिको चासोका रूपमा हेरिएको छ।












