पेरिस । फ्रान्सले आगामी सेप्टेम्बरदेखि माध्यमिक विद्यालयमा   मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लागू गर्ने तयारी गरेको छ।

फ्रान्सेली संसद्ले गत जुलाईमा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पहुँच र माध्यमिक विद्यालयमा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पारित गरेपछि नयाँ शैक्षिक सत्रसँगै यो व्यवस्था कार्यान्वयनमा आउन लागेको हो।

ADVERTISEMENT

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार बालबालिका तथा किशोरकिशोरीले स्क्रिनमा बिताउने समय घटाउने राष्ट्रपति इमानुएल म्याक्रोँको अभियानअन्तर्गत मोबाइल फोन प्रतिबन्धको व्यवस्था अघि बढाइएको हो।

ADVERTISEMENT

फ्रान्सेली सरकारले मोबाइल तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगले बालबालिका र किशोरकिशोरीको मानसिक तथा शारीरिक विकासमा असर पारिरहेको धारणा राख्दै आएको छ। बालबालिकालाई डिजिटल उपकरणको अत्यधिक प्रयोगबाट जोगाउन सरकारले विभिन्न कडा उपाय अघि सारेको छ।

सरकारका प्रवक्ता मोद ब्रेजोँले माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध नयाँ शैक्षिक सत्र सुरु भएसँगै लागू हुने जानकारी दिएका छन्। मन्त्रिपरिषद्को बैठकमा उनले प्रतिबन्ध कार्यान्वयनका लागि पर्याप्त, स्पष्ट र कानुनी आधार तयार रहेको बताएका छन्।

ADVERTISEMENT

फ्रान्समा नयाँ शैक्षिक सत्र आगामी सेप्टेम्बरदेखि सुरु हुँदैछ। यसअघि नै फ्रान्सले ११ देखि १५ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।

यसैबीच, १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट रोक लगाउने प्रावधानबारे भने कानुनी विवाद देखिएको छ। फ्रान्सको सर्वोच्च अदालतले यस महिनाको सुरुमा उक्त प्रावधान खारेज गरेपछि सरकारले त्यस विषयमा थप कानुनी प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आएको छ।