म्याग्दी, भदौ ८ गते । म्याग्दीको बहुप्रतिक्षित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्धक रहेको आयोजनामा भौतिक निर्माण तथा उपकरण जडानको काम पूरा भएको हो।

रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार आयोजनाका बाँध, डिसेन्डर, सुरुङ र स्विचयार्डको परीक्षण सफल भइसकेको छ। २० मेगावाट क्षमताको एउटा युनिटको परीक्षणसमेत सम्पन्न भएको र अर्को युनिटको परीक्षण सुरु गरिएको उहाँले जानकारी दिनुभयो। परीक्षण एक सातादेखि १० दिनसम्म चल्ने र त्यसपछि विद्युत् उत्पादन थाल्ने लक्ष्य छ।

ADVERTISEMENT

रघुगङ्गा–४ दग्नाम र वडा नं. ५ झिँको फेदीमा बाँध, ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ तथा दुई पानी थिग्र्याउने पोखरी निर्माण भएका छन्। तिल्केनीचौरमा निर्माण गरिएको विद्युत्गृहमा जडान भएका उपकरणको परीक्षण भइरहेको छ। उत्पादित विद्युत् केन्द्रीय प्रसारण प्रणालीमा जोड्न विद्युत्गृह परिसरमा निर्माण गरिएको स्विचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा छ।

ADVERTISEMENT

आयोजना निर्माणका लागि भारतीय कम्पनी जयप्रकाश एसोसियट्सले २०७४ मङ्सिरमा रु. ६ अर्बमा ठेक्का सम्झौता गरेको थियो। कोरोना महामारी, बाढी, पहिरो तथा निर्माण सामग्री अभावलगायत कारणले आयोजना निर्धारित समयभन्दा ढिलो सम्पन्न भएको हो।

आयोजनाले वार्षिक करिब २४ करोड ५ लाख ९३ हजार युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। उत्पादित विद्युत् कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी दाना–कुश्मा प्रसारण लाइनमा जोडिनेछ।

ADVERTISEMENT