बर्दघाट – बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले नेपाली कांग्रेसका नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरी का कारण पश्चिम नवलपरासीमा विकासको गति बढेको बताएका छन्।
बर्दघाटमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख श्रेष्ठले चिसापानीमा निर्माणाधीन ट्रमा सेन्टरदेखि खजुरा पुलसम्मका महत्वपूर्ण योजनामा चौधरीको भूमिका रहेको दाबी गरे।
उनका अनुसार संघीय सरकारको करिब १२ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको ट्रमा सेन्टर चौधरीकै पहलमा अघि बढेको हो। काठमाडौँ बाहिर निर्माण हुन लागेको पहिलो ट्रमा सेन्टरले पश्चिम नवलपरासीको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्ने उनले बताए।
“ट्रमा सेन्टर सामान्य विषय होइन। यहाँ नआओस् भनेर स्थानीयस्तरमै चलखेल भइरहेका बेला यदि पूर्व सांसद विनोद चौधरी नभएको भए निर्माण सम्भव हुने थिएन,” उनले भने।
प्रमुख श्रेष्ठले खजुरा पुल निर्माणमा पनि राजनीतिक अवरोध भए पनि चौधरीकै पहलमा व्यक्तिगत बैंकबाट ऋण व्यवस्थापन गरी ठेकेदारलाई काम अगाडि बढाउन सहयोग गरिएको दाबी गरे। हाल पुल ढलान प्रक्रियामा रहेको र आगामी निर्वाचनसम्म सम्पन्न हुने अपेक्षा गरिएको उनले जानकारी दिए।
त्यसैगरी दुम्किबासतर्फ विस्तार भइरहेको वैकल्पिक सडकका लागि चौधरीले १० करोड रुपैयाँ बजेट ल्याउने विश्वास दिलाएको उनले बताए। बजेट नजाओस् भनेर केही स्थानीय व्यक्तिहरूले डेलिगेसनसमेत गएको उनको गुनासो थियो।
प्रमुख श्रेष्ठले आगामी निर्वाचनमा विकासलाई निरन्तरता दिन सक्षम उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा राख्दै चौधरी विकासका लागि उपयुक्त विकल्प रहेको उल्लेख गरे।








