काठमाडौं । पछिल्लो एक साताको अवधिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित हेलो सरकारमा ५ हजार ५ सय ५७ वटा गुनासा दर्ता भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा उक्त तथ्यांक सार्वजनिक गरेको हो।
कार्यालयका अनुसार प्राप्त गुनासामध्ये २ हजार ३ सय ७९ वटा पोर्टलमार्फत दर्ता भएका छन् भने १ हजार ७ सय २७ वटा गुनासा सम्बन्धित निकायमा पठाइएको छ। त्यस्तै, २ हजार ५० वटा गुनासा समाधान भइसकेका छन्।
हाल ७ सय ५४ वटा गुनासा प्रक्रियामा रहेको कार्यालयले जनाएको छ।यस अवधिमा हेलो सरकारमा ३ हजार १ सय ७८ फोन कल उठाइएको र तीमध्ये २ हजार १ सय ७७ वटा गुनासा फोनमार्फत नै समाधान गरिएको पनि जानकारी दिइएको छ।





