काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सबाट खेल्दै आएका विकेटकिपर ब्याटर अभिषेक पोरेल बलात्कारको आरोपमा पक्राउ परेका छन्।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार पश्चिम बंगालको हुगली जिल्लामा प्रहरीले पोरेललाई एक महिलासँग विवाह गर्ने वाचा गरेर यौन सम्बन्ध राखेको आरोपमा पक्राउ गरेको हो।
हुगली ग्रामीण प्रहरीका अधिकारी कुँवर भूषण सिंहका अनुसार पोरेलविरुद्ध मुद्दा दर्ता भइसकेको थियो र उनलाई पक्राउ गर्न अदालतबाट आदेश आएको थियो। प्रहरीले उनलाई मंगलबार राति अबेर पक्राउ गरेको हो। उनलाई बुधबार अदालतमा पेस गरिने प्रहरीले जनाएको छ।
पीटीआईका अनुसार एक महिला मेडिकल विद्यार्थीले गत जुन २३ मा मोघरा प्रहरी चौकीमा पोरेलविरुद्ध उजुरी दर्ता गरेकी थिइन्। उजुरीमा आफूहरू करिब साढे तीन वर्षदेखि सम्बन्धमा रहेको र विवाह गर्ने योजना बनाएको दाबी गरिएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार मोघरा प्रहरी चौकीमा दर्ता भएको मुद्दा नम्बर ३४६/२६ मा भारतीय दण्ड संहिता (आईपीसी) को धारा ६६ई/७२ तथा सूचना प्रविधि ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
यद्यपि, पोरेलले आफूमाथि लगाइएका आरोपलाई अस्वीकार गर्दै ती झूटो भएको दाबी गरेका छन्।
हुगलीको चन्दननगरका पोरेल दिल्ली क्यापिटल्सका विकेटकिपर ब्याटर हुनुका साथै बंगाल क्रिकेट टोलीका प्रमुख खेलाडीमध्ये एक हुन्। उजुरीकर्ता महिला भने हुगलीको मोघरामा बस्ने बताइएको छ।
पोरेलले सन् २०२३ देखि आईपीएल खेल्दै आएका छन्। उनले अहिलेसम्म ३५ आईपीएल खेलमा २५.६३ को औसतमा ७६९ रन बनाएका छन्।
पक्राउ र आरोपसम्बन्धी विषयमा अन्तिम कानुनी निष्कर्ष भने अदालतको प्रक्रिया पूरा भएपछि मात्र तय हुनेछ।





