रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका छन्।

मंगलबार दिउँसो करिब २ बजे नदीमा नुहाउन पसेका उनीहरू डुबेर बेपत्ता भएको स्थानीयवासीले बताएका छन्।

बेपत्ता हुनेमा स्थानीय शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रहमतुल्लाह, शेख खुरसेदकी १० वर्षीया छोरी रौशन खातुन र शेख ओसी अख्तरकी १० वर्षीया छोरी सवनम खातुन रहेका छन्।

ADVERTISEMENT

बालबालिका बेपत्ता भएको खबर पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजी तथा उद्धारमा परिचालन गरिएको छ।

ADVERTISEMENT

सशस्त्र प्रहरी सुरक्षा बेस देवाहीबाट ७ जना तथा इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट ९ जनाको टोली घटनास्थलमा खटिएको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटबाट रबर बोटसहितको थप टोली समेत खोजीका लागि परिचालन गरिएको सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीले जानकारी दिए।

बेपत्ता बालबालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।