काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफूविरुद्ध गलत तथा भ्रामक सूचना फैलाइएको भन्दै आपत्ति जनाएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले आफू संसद्मा आफैँलाई ‘अग्निपरीक्षा’ दिन उभिएको बताए। आफूविरुद्ध मदिरा सेवन गरेको तथा अश्लील भिडियोसँग जोडेर आरोप लगाइएको भन्दै उनले त्यसको सत्यता परीक्षण गर्न चुनौती दिए।
शाहीले नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको प्रसंग उल्लेख गर्दै गलत र भ्रामक सूचनाका कारण आफूले पनि त्यस्तै परिस्थिति सामना गर्नुपरेको बताए।
‘आज ममाथि रक्सी खाएर जे मन लाग्यो त्यही बोल्यो, अश्लील भिडियोहरू आए भन्ने आरोप लगाइएका छन्,’ उनले भने।
आफूले जीवनमा मदिरा सेवन नगरेको दाबी गर्दै शाहीले संसद्मै आफ्नो स्वास्थ्य परीक्षण गर्न चिकित्सकको टोली खटाउन माग गरे।
‘मेरो शरीरको प्रत्येक अंग जाँच गरियोस्। मेरो रगतदेखि छालासम्म परीक्षण गरियोस्। जन्मदेखि अहिलेसम्म मदिराको एक थोपा मात्रै मेरो शरीरमा कतै प्रयोग भएको र कतै देखियो भने म सांसद पदबाट राजीनामा दिन तयार छु,’ उनले भने।
शाहीले आफूविरुद्ध सामाजिक सञ्जालमा अर्कै व्यक्तिको अश्लील भिडियो प्रयोग गरी आफ्नो नाममा प्रचार गरिएको दाबीसमेत गरे। उक्त भिडियो आफ्नो भएको प्रमाणित भए राजनीतिक जीवनबाटै सन्यास लिने उनले बताए।
‘सामाजिक सञ्जालमा कतै भेटिएको कुनै अमुक अर्कै व्यक्तिको अश्लील भिडियो ल्याएर यो ज्ञानेन्द्र शाही हो भन्दै प्रचार गरिएको छ। उक्त भिडियो यदि मेरो हो भने जाँच गरियोस्, म राजनीतिक जीवनबाट संन्यास लिन्छु,’ उनले भने।
आफूविरुद्ध भ्रम फैलाउने व्यक्तिहरूको समेत स्वास्थ्य परीक्षण गर्नुपर्ने माग गर्दै शाहीले गलत सूचना फैलाउनेमाथि कारबाही गर्न गृहमन्त्रीसँग आग्रह गरे।












