काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह बालेनले कालो चश्मा उतारेर आए एक्लो नरहेको बताएकी छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीले सत्य स्वीकार, राजनीतिक संवाद गर्ने गरे प्रतिपक्षले साथ दिने बताइन् । ‘प्रधानमन्त्रीजी नडराउनुहोस्, तपाईं एक्लो हुनु हुन्न । तपाईंको साथमा प्रतिपक्ष छ,’ उनले भनिन्, ‘सत्य स्वीकार गर्नुहोस् । गलत भएका छन् भन्ने सच्याउने साहस देखाउनुहोस् ।’
रेनुकाले आफू पुस्ताको प्रधानमन्त्रीसँग आफ्ना पनि धेरै आशा र अपेक्षा रहेको बताइन् । युवा प्रधानमन्त्रीलाई असफल हुने छुट नरहेकामा उनले जोड दिइन् ।
प्रतिनिधिसभाको सोमबारको बैठक सुरु हुनेवितिक्कै प्रतिपक्ष दलका सांसदले आफ्नो स्थानमा उठेर विरोध जनाएका थिए। प्रधानमन्त्री शाहको सीमासम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलले विरोध जनाउँदै आएका छन्।
सोमबारको बैठकमा पनि प्रतिपक्ष दलका सांसदले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसकी सांसद रेनुका काउचालाई बोल्न समय दिएका थिए।
सांसद काउचाले प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेको भनाइबारे टिप्पणी गरिन्। ‘कालो चस्मा खोल्नुस, तपाई एक्लो हुनुहुन्न,’ काउचाले भनिन्, ‘मुलुकको हितमा तपाईले चाल्ने हरेक कदममा प्रतिपक्ष तपाईको साथमा छ। ’
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत आफू एक्लै लडिरहेको अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर सांसद काउचाले प्रश्न गरेकी हुन्।






