ठमाडौँ । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरिएको परीक्षण उत्पादन सफल भएको छ।
नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन, विद्युत् प्रणाली तथा कपडा बुन्ने तानहरूको मर्मतसम्भारपछि परीक्षण उत्पादन सुरु गरिएको हो। लामो समयपछि मेसिन सञ्चालनमा आएसँगै उद्योग परिसरमा फेरि कपडा बुन्ने तानको आवाज सुनिन थालेको छ।
चिनियाँ सरकारको सहयोगमा २०३२ सालमा स्थापना भएको हेटौँडा कपडा उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। तर, २०५७ सालदेखि उद्योग पूर्ण रूपमा बन्द अवस्थामा थियो।
सरकारले गत असार १८ गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि नेपाली सेनामार्फत उद्योगका मेसिन, विद्युत् प्रणाली र अन्य संरचनाको मर्मत तथा सरसफाइ अघि बढाइएको थियो। परीक्षण उत्पादनबाट प्राप्त नतिजाका आधारमा उद्योगलाई दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको तयारी छ।
यसैबीच, प्रधानमन्त्री बालेन शाहले लामो समयदेखि घाटामा रहेका तथा बन्द अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानहरू सुधारको बाटोमा फर्किन थालेको दाबी गरेका छन्।
प्रधानमन्त्री शाहले शनिबार बिहान सामाजिक सञ्जालमार्फत पाँच बुँदे प्रगति विवरण सार्वजनिक गर्दै नियत सफा र टिमवर्क इमानदार भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव हुने बताएका छन्।
उनले नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा सुरु भएका सुधारका प्रयासले रुग्ण सरकारी उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको उल्लेख गरेका छन्।
बन्द अवस्थामा पुगेका राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री शाहले सरकारी संस्थान सुधारका लागि निरन्तर प्रयास भइरहेको बताएका छन्।





