काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा मृत्यु भएका नेपालीमध्ये विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित चारजनाको शव इस्लामावाद ल्याइएको छ।
इस्लामावादस्थित नेपाली दूतावासका अनुसार नेपाली समयअनुसार शुक्रबार दिउँसो करिब १:३० बजे शवहरू राजधानी इस्लामावाद पुर्याइएको हो। ल्याइएका शवमा निर्मल पुर्जा, किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पा रहेका छन्।
हिमपहिरोमा परी ६ नेपालीसहित १० जनाको ज्यान गएको थियो। मृतकमध्ये पुरबहादुर गुरुङ ‘युक्त’को शव यसअघि नै बिहीबार नेपाल ल्याइसकिएको छ।
अहिलेसम्म नवाङ थिन्डु शेर्पा, एक पाकिस्तानी र एक अमेरिकी नागरिकको शव घटनास्थलमै रहेको बताइएको छ। प्रतिकूल मौसम र दुर्गम भौगोलिक अवस्थाका कारण ती शव अझै उद्धार गर्न नसकिएको नेपाली दूतावास स्रोतले जनाएको छ।
निर्मल पुर्जाको शव भने परिवारको निर्णयअनुसार बेलायत लगिनेछ र अन्त्येष्टि पनि त्यहीँ गरिने तयारी छ। यसबारे परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले अन्तिम निर्णय परिवारकै इच्छाअनुसार हुने बताएका छन्।
उच्च हिमाली क्षेत्रमा भएको दुर्घटनापछि शव उद्धार तथा फिर्ता ल्याउने कार्यमा पाकिस्तानी निकाय र नेपाली टोली निरन्तर खटिरहेको जनाइएको छ।





