काठमाडौँ — देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ।

हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती र कर्णालीका केही तथा कोशी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

ADVERTISEMENT

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

ADVERTISEMENT

रातिको समयमा पनि अधिकांश स्थानमा बदली रहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। हिमाली क्षेत्रमा वर्षा वा हिमपात र तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान छ।

महाशाखाले लगातारको वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी सूचना नियमित रूपमा पालना गर्न पनि अनुरोध गरिएको छ।

ADVERTISEMENT