काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)का अध्यक्ष ज्यानी इन्फान्टिनोले प्रतियोगिताको सेयर निजी लगानीकर्तालाई बेच्ने विवादित योजनासम्बन्धी प्रक्रियागत त्रुटि स्वीकार गर्दै सार्वजनिक रूपमा माफी मागेका छन्। तर, बढ्दो आलोचनाबीच पनि उनले फिफा अध्यक्ष पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन्।

मोरक्कोको रबातस्थित फिफाको अफ्रिकी कार्यालयमा बुधबार बसेको व्यवस्थापन बोर्डको आकस्मिक बैठकपछि इन्फान्टिनोले आफ्नो गल्ती स्वीकार गरेका हुन्। बैठकपछि जारी विज्ञप्तिमा फिफाका उच्च अधिकारीहरूले उनको नेतृत्वप्रति निरन्तर समर्थन रहेको उल्लेख गरेका छन्।

‘फिफा फरवार्ड इन्टरप्राइज’ (एफएफई) नामक प्रस्तावमार्फत विश्वकपलगायतका प्रतियोगितामा निजी लगानी भित्र्याउने योजनालाई युरोपेली फुटबल महासंघ (युइएफए)ले अपारदर्शी भन्दै इन्फान्टिनोमाथिको विश्वास गुमेको जनाएको थियो। फिफाका महासचिव म्याथियास ग्राफस्ट्रोमले पनि घटनाक्रमलाई ‘दुःखद र निन्दनीय’ बताएका थिए।

ADVERTISEMENT

यद्यपि, व्यवस्थापन बोर्ड र महासचिव ग्राफस्ट्रोमले बैठकपछि इन्फान्टिनोको नेतृत्वप्रति पुनः पूर्ण समर्थन व्यक्त गरेका छन्। इन्फान्टिनो र ग्राफस्ट्रोमले फिफाका उपाध्यक्ष, काउन्सिल सदस्य तथा २११ सदस्य राष्ट्रलाई पत्र लेख्दै प्रक्रियागत त्रुटिप्रति क्षमायाचना गरेका छन्।

ADVERTISEMENT

इन्फान्टिनोले निजी लगानी भित्र्याउने प्रस्तावको समर्थन गरेबापत प्रत्येक सदस्य संघलाई ४ करोड अमेरिकी डलर उपलब्ध गराउने आश्वासन दिएका थिए। तर, प्रस्तावबारे पर्याप्त परामर्श नगरी अघि बढाइएको भन्दै व्यापक विरोध भएको थियो।

विवादका बीच क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले इन्फान्टिनोप्रति विश्वास नरहेको बताएका छन् भने पूर्वपोर्चुगिज स्टार लुइस फिगोले उनको तत्काल राजीनामाको माग गरेका छन्।

यद्यपि, ५६ वर्षीय इन्फान्टिनो सन् २०२७ को मार्चमा मोरक्कोमा हुने निर्वाचनमा चौथो कार्यकालका लागि पुनः उम्मेदवारी दिने तयारीमा छन्।