काठमाडौं । जर्मनीको लाइपजिग–हाले विमानस्थलमा युक्रेनी कार्गो विमान नजिकै विस्फोटक पदार्थ जडान गरिएको ड्रोन फेला परेको छ। घटनापछि केही घण्टासम्म विमानस्थलको उडान सञ्चालन प्रभावित भएको अधिकारीहरूले बताएका छन्।
मंगलबार राति र बुधबार बिहानबीच भएको घटनाका क्रममा एउटा विमान उडान भर्ने क्रममा अज्ञात वस्तुसँग ठोक्किए पनि सुरक्षित रूपमा अवतरण गर्न सफल भएको जनाइएको छ। त्यसपछि विमानस्थलमा आउने केही उडानहरू अन्य विमानस्थलतर्फ मोडिएका थिए।
जर्मन प्रहरीले बम निष्क्रिय पार्ने टोलीको सहयोगमा ड्रोनमा जडान गरिएको विस्फोटक उपकरण सुरक्षित रूपमा निष्क्रिय पारेको जनाएको छ।
पूर्वी जर्मनीस्थित लाइपजिग–हाले विमानस्थल जर्मन सेना, नेटो र युक्रेनको एन्टोनोभ एयरलाइन्सका लागि महत्त्वपूर्ण ढुवानी केन्द्र मानिन्छ। घटनास्थलबाट सार्वजनिक भिडियोमा बम निष्क्रिय पार्ने रोबोट एन्टोनोभ विमान नजिक परिचालन गरिएको देखिएको छ।
जर्मनीका लागि युक्रेनका राजदूत ओलेक्सी माकियेले घटनामा रूसको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन्। तर जर्मन अधिकारीहरूले हालसम्म त्यसलाई पुष्टि गर्ने कुनै प्रमाण सार्वजनिक गरेका छैनन् भने रूसले पनि घटनाबारे तत्काल प्रतिक्रिया दिएको छैन।
प्रहरीका अनुसार मध्यरातपछि विमानस्थल नजिक मानवरहित हवाई उपकरण (यूएभी) देखिएपछि सुरक्षा सतर्कता बढाइएको थियो। त्यसपछि दक्षिणी धावनमार्गमा शंकास्पद वस्तु फेला परेपछि बम निष्क्रिय पार्ने रोबोट परिचालन गरी ड्रोनमा जडान गरिएको डेटोनेटर हटाइएको थियो।
जर्मन सञ्चारमाध्यमका अनुसार चार रोटर भएको उक्त ड्रोनमा ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ एन्ड इन्सेन्डियरी डिभाइस (आईईआईडी)’ जडान गरिएको थियो।
घटनापछि बुधबार बिहानदेखि विमानस्थलको नियमित सेवा पुनः सञ्चालनमा आएको भए पनि हाल उत्तरी धावनमार्गबाट मात्र उडान भइरहेको छ। दक्षिणी धावनमार्गमा अनुसन्धान जारी रहेको र प्रहरीको आतंकवादविरोधी इकाइले ड्रोन उडाउने व्यक्तिको खोजी गरिरहेको जनाएको छ।
युक्रेन युद्ध सुरु भएयता जर्मनीसहित युरोपका विभिन्न देशमा विमानस्थल, सैन्य अड्डा र औद्योगिक क्षेत्रमा ड्रोन देखिने घटनाहरू बढ्दै गएका छन्। जर्मनीले यस्ता घटनालाई सम्भावित तोडफोड, जासुसी र गलत सूचना फैलाउने अभियानसँग जोडेर हेर्दै आएको छ भने रूसले त्यस्ता आरोप अस्वीकार गर्दै आएको छ।




