रौतहट । रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएपछि आगलागी हुँदा ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

आज बिहान करिब ५:३० बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर सडकमा आएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिनेपट्टि पल्टिएको थियो। ट्याङ्कर पल्टिएलगत्तै आगलागी भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरको प्रहरी टोली तथा चन्द्रपुर र निजगढ नगरपालिकाका दमकल घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएका थिए।

ADVERTISEMENT

आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा क्षति भए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए। दुर्घटनापछि केही समय प्रभावित भएको महेन्द्र राजमार्ग अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छ।

ADVERTISEMENT

ट्याङ्कर चालक बाराको सिमरा उपमहानगरपालिका–११ निवासी २५ वर्षीय समिर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।