चितवन, । निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दु:ख दिएको नारायणगढ–बुटवल सडकखण्ड यतिबेला निकै सहज बनेको छ ।
नारायणगढबाट बुटवल पुग्न सामान्यतया दुई घण्टा मात्रै लाग्ने गरेको छ । कतिपय निजी सवारी चालकहरु एक घण्टा ३० मिनेटमा यो सडक पार गरेको बताउँछन् ।

गत वर्षमा दाउन्नेको सडकका कारण कतिपयले यही सडकमा रात बिताउनुपरेको थियो । वर्षा र चाडपर्वको बेला पूर्वपश्चिम यात्रा गर्नुपर्ने कतिपय पर्वमा घर जानसमेत नसकेको पीडा छ । यहाँका ग्याँस उद्योगी विमल कालाखेती गत साता एक घण्टा ३० मिनेटमा बुटवलबाट नारायणगढ अनुभव सुनाउँछन् । सडक सहज र कतै अवरोध नभएको उनको भनाइ छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का उद्योगी प्रकाश आचार्य नारायणगढबाट एक घण्टा ५० मिनेटमा घरमै पुगेको बताउँछन् ।

ADVERTISEMENT

‘परिवारसहित निजी सवारीमा आउँदा निकै छिटो आइयो । विगतका सबै दु:ख अहिले सडकले बिर्साएको छ,’ उनलृे भने । विगतमा यात्रा गर्दा दाउन्नेमा लामो जाममा पर्ने गरेको स्मरण गर्दै आचार्यले भने, ‘नारायणगढबाट साँझ ६ बजे हिँडेर भोलिपल्ट बिहान १० बजे घर पुगेको थिएँ ।’
भरतपुरका एक कर्मचारी आफ्नो निजी गाडीमा नारायणगढबाट एक घण्टा ४४ मिनेटमा बुटवलको चौराहा चोक पुगेको बताउँछन् । बाटोमा दुई ठाउँमा शौच गरेर जाँदासमेत सो समयमा पुगेको उनको भनाइ छ । यो सडकमा समस्या आएर बुटवल–पाल्पालगायतबाट आउने यात्रु पोखरा हुँदै आउनुपर्ने बाध्यता थियो । कतिपयले कालीगण्डकी करिडोरको बाटोसमेत प्रयोग गर्ने गरेका थिए ।

ADVERTISEMENT

चितवन आउँदा भैरहवाबाट विमानमार्फतकाठमाडौँ हुँदै पुन: चितवनमा आउनेहरु पनि प्रशस्त थिए । कतिपयले भैरहवाबाट पोखरा गएर चितवन आउने गरेका थिए ।

चौतारी यातायात सेवा प्रालिका अध्यक्ष भुवन बराल पहिले पहिले रातभरी पनि जाममा बस्नुपर्ने सडक अहिले यात्रु झार्दै र चढाउँदै जाँदा पनि तीन घण्टामा पुगिने गरेको बताउँछन् ।

वर्षातको समयमा धेरैले निकै दु:ख पाएको यो सडक अहिले सरर बनेको छ । नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका इञ्जिनियर शिव खनालका अनुसार यो सडकको निर्माण दुई खण्डको ९२ प्रतिशत हाराहारी सकिएको छ । सडक सुरक्षा र केही ठाउँमा नाली जोड्ने काम मात्रै बाँकी रहेको उनले बताए ।

नारायणगढबाट ११३.३५ किमी बुटवलको दूरी छ । यो सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो । दुवै ठेक्का एउटै चिनियाँ ठेकेदार कम्पनीले पाएको छ । करिब १६.९९ अर्ब लागतमा निर्माण भइरहेको यस आयोजनामा एसियाली विकास बैंकको ८५ प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको १५ प्रतिशत लगानी रहेको छ ।

चिनियाँ सरकारी कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ले निर्माणको जिम्मा पाएको यस आयोजनाको काम विसं २०७५ चैत ८ गतेदेखि सुरु भएको थियो । सुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि पटकपटक मिति थप गर्दै आएको छ । ६५ किलोमिटर लम्बाइको नारायणगढ–दाउन्ने खण्डलाई पूर्वी खण्ड र ४९ किलोमिटर लम्बाइको दाउन्ने–बुटवल खण्डलाई पश्चिमी खण्ड भनिएको छ ।

नारायणगढ–बुटवल सडक दुई लेनबाट चार लेनमा विस्तार गरिएको हो । बस्ती भएका ठाउँमा ६ लेन बनाइएको छ । यस विस्तारअन्तर्गत बजार क्षेत्रको २८ किलोमिटर खण्डलाई ६ लेन र अन्य क्षेत्रलाई चार लेनमा स्तरोन्नति गरिएको छ ।