काठमाडौँ । पारिवारिक कथावस्तुमा आधारित नेपाली चलचित्र ‘बा एक योद्धा’ आगामी भदौ १९ गते (सेप्टेम्बर ४) कृष्ण जन्माष्टमीको अवसर पारेर नेपालसहित विश्वका विभिन्न मुलुकमा एकसाथ प्रदर्शनमा आउने भएको छ।

निर्माण संस्था आर्टिस्टिक इन्टरटेन्मेन्टका अनुसार चलचित्रले आफ्ना सन्तानको खुसी र उज्ज्वल भविष्यका लागि जीवनभर सङ्घर्ष गर्ने एक बुवाको त्याग, जिम्मेवारी, माया र संवेदनशील यात्रालाई केन्द्रमा राखेको छ।

चलचित्रका निर्माता वसन्त लम्सालले मनोरञ्जनसँगै भावनात्मक अनुभूति दिलाउने उद्देश्यले चलचित्र निर्माण गरिएको बताए। परिवारका सबै सदस्यले सँगै बसेर हेर्न सक्ने चलचित्र तयार पारिएको र यसले दर्शकको मन छुने विश्वास निर्माण टिमको रहेको उनको भनाइ छ।

ADVERTISEMENT

हरि लम्सालको निर्देशन, कथा र पटकथा रहेको चलचित्रमा डा. कृष्णहरि बराल, डा. राजुबाबु श्रेष्ठ र सञ्जीव थापाका शब्दमा हरि लम्सालकै संगीत रहेको छ। शिवराम श्रेष्ठको छायाङ्कन, मित्र डी. गुरुङको सम्पादन, अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताको भूमिकामा छन्।

ADVERTISEMENT

चलचित्रमा दिव्यदेव पन्तले बुवाको मुख्य भूमिका निभाएका छन् भने झरना थापा आमा र सुहाना थापा छोरीको भूमिकामा देखिएकी छन्। सागर खनाल र सुप्रज्ञा शर्माले छोरा–बुहारीको भूमिका निर्वाह गरेका छन्।

साथै शिशिर शिवाकोटी, अनिल बुढाथोकी, माउत्से गुरुङ, सबी थापा, चन्द्र नेपाल, कृष्णप्रसाद ढुङ्गाना, अञ्जन ढकाल, करण शाहलगायत कलाकारको अभिनय रहेको चलचित्रमा अभिनेत्री केकी अधिकारी विशेष भूमिकामा देखिनेछिन्।

करिब २ करोड ७५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको चलचित्रको छायाङ्कन काठमाडौँ र काभ्रेको ऐतिहासिक तथा पर्यटकीय नगर पनौतीका विभिन्न स्थानमा गरिएको हो।