गुल्मी। गुल्मी जिल्लाका दुई फरक स्थानबाट बेवारिसे अवस्थामा भरुवा बन्दुक तथा त्यससँग सम्बन्धित सामग्री बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीले घटनाको स्रोत र प्रयोगबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।
मंगलबार साँझ रेसुङ्गा नगरपालिका–२ धागिथुमस्थित सेतो गुराँस नजिक सार्वजनिक स्थानमा बेवारिसे अवस्थामा भरुवा बन्दुक रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक सुदीप नेपालीको नेतृत्वमा खटिएको टोलीले खोजतलास गरेको थियो। सो क्रममा बनमाराको झाडीभित्र रहेको सेतो प्लास्टिकको बोराबाट एक थान बेसाबुत भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।
उक्त बन्दुक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याइएको छ।
त्यसैदिन दिउँसो रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारस्थित मुसीडाँडा क्षेत्रमा नियमित गस्तीका क्रममा अर्को एक थान साबुत भरुवा बन्दुक, करिब १५० ग्राम बारुद, १२ थान छर्रा र १२ थान क्याप पनि बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी रुरुबाट प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर विकको नेतृत्वमा खटिएको टोलीले पानी ट्यांकी नजिक उक्त सामग्री फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र वीर विश्वकर्माका अनुसार बरामद सबै सामग्री प्रहरी नियन्त्रणमा सुरक्षित राखिएको छ।
प्रहरीले दुवै घटनाबीच कुनै सम्बन्ध छ वा छैन, बन्दुकको स्रोत के हो र ती सामग्री कसले तथा किन त्यहाँ छाडेको हो भन्ने विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।




