गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका-८ भार्सेका ५६ वर्षे यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा मकै र कोदोखेती मात्र खेती गरिँदै आएको उनको बारीमा किबीका बोट देख्न सकिन्छ । उहाँले किबी खेतीबाट मात्रै वार्षिक ६ लाखभन्दा बढी आम्दानी गर्दै आएको बताए ।

सत्यवती गाउँपालिका-८ मा वडा सदस्यसमेत रहेका थापाले ११ वर्षअघि व्यावसायिक रुपमा किबीखेती गर्न थालेका हुन् । उनले हाल आठ रोपनीमा यलिसन, हेवार्ड, रेड, गोल्डेन, ब्रुनो र मोन्टी गरी ६ वटा किबीका जात लगाएका छन् ।

ADVERTISEMENT

जलवायु र भौगोलिक संरचनाका हिसाबले भार्से किबीखेतीका लागि उपयुक्त ठाउँ मानिन्छ । उनले गत वर्ष किबी र बिरुवा गरी ६ लाख आम्दानी गरेका थिए । अहिले गत वर्षको तुलनामा अझै राम्रो हुने अपेक्षा गरिएको थापाले बताए ।

किबीले खेती गरेको तीन वर्षबाटै उत्पादन दिन थालेपछि थापालाई किबीखेती गर्ने उत्प्रेरणा जागेको होे । उनको बारीमा एउटै बोटमा ५० देखि एक क्विन्टलसम्म किबी फल्ने गरेको छ । बारीमा अहिले १५० वटा किबीका बोट छन् ।

ADVERTISEMENT

सुरुमा थापाले तार, पाइप र खम्बा बनाउनका लागि आठ लाख खर्चेर व्यावसायिक रुपमा किबीखेती गर्न सुरु गरेका हुन् । ‘त्यही लगानीले अहिलेसम्म काम गरेको छ, यो बहुवर्षीय भएको कारण एकपटक लगाएपछि ५० वर्षसम्म आम्दानी लिन सकिन्छ, त्यसैले यसैमा रमाएको छु’, उनले भने । किबीमा अन्य जातका फलफूलमा भन्दा रोग खासै नलाग्ने भएको उनेले बताए ।

उत्पादित किबी बजारमा २०० देखि ३०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । भार्सेको किबी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म पुग्ने गर्दछ । उनले किबीलाई प्रशोधन गरेर गत वर्षदेखि किबीको वाइन बनाउन सुरु गरेका छन् । बजारमा किबीको वाइनको राम्रो माग भएको थापाले बताए । किबी बिक्री गर्न बजारको खासै समस्या नभएको थापाको भनाइ छ । उनले पाँच वर्षदेखि किबीको नर्सरीसमेत गर्दै आएका छन् । उनको नर्सरीमा यतिबेला आठ हजार किबीका नयाँ बिरुवा छन् । एउटा बिरुवालाई १५० देखि २०० रुपैयाँसम्म पर्ने गर्दछ ।

सत्यवती गाउँपालिकाले भार्से गाउँलाई किबीको पकेटक्षेत्र घोषणा गरी कृषकलाई उत्प्रेरित गर्दै आएको छ । किबीखेती विस्तारका लागि पालिकाबाट प्राविधिक सहयोगदेखि आवश्यकताअनुसारको तालिम, टनेल, नर्सरी तथा विरुवामा अनुदान उपलब्ध गराउँदै आएको सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताए ।

किबीका अन्य जातमध्येमा गोल्डेन र रेड किबी सबैभन्दा राम्रो मानिन्छ । यसको मूल्य अन्य जातको किबीकोभन्दा एक सय रुपैयाँभन्दा बढी पर्दछ । यसपटक गोल्डेन किबीले राम्रो मूल्य पाएको छ । भार्सेमा पाँचवटा किबी समूह रहेका छन् । उक्त समूहमा हाल ८० जना कृषक आबद्ध छन् । त्यहाँका कृषकको घरमा दशदेखि एक सय ५० बोटसम्म किबीका बोट छन् । उक्त क्षेत्रमा अहिले ४० हेक्टर क्षेत्रफलमा किबी उत्पादन हुँदै आएको छ ।