गुल्मी। गुल्मीका मतदाताले यसपटक पूर्णकालीन राजनीतिकर्मीभन्दा फरक पृष्ठभूमिका उम्मेदवारलाई रोजेका छन्। जिल्लाका दुईवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा इन्जिनियर सागर ढकाल र अधिवक्ता गोविन्द पन्थी विजयी भएका छन्।
गुल्मी–१ मा इन्जिनियर सागर ढकालले नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुदर्शन बराललाई पराजित गरेका छन्।
ढकालले २९ हजार ६४२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी ज्ञवालीले १५ हजार १८१ मत प्राप्त गरेका छन्। उनीहरूबीचको मतान्तर १४ हजार ४६१ रहेको छ। कांग्रेसका भण्डारीले १३ हजार ५०५ मत ल्याउँदा बरालले ३ हजार १७६ मत प्राप्त गरेका छन्।
ढकाल विजयी भएको गुल्मी–१ क्षेत्र विगतमा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीले आलोपालो जित्दै आएको क्षेत्र हो। २०५६ को प्रतिनिधिसभा निर्वाचन, २०६४ को पहिलो संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा ज्ञवाली विजयी भएका थिए भने २०७० को दोस्रो संविधानसभा र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भण्डारी विजयी भएका थिए।
२०४८ सालमा गुल्मीको सत्यवती गाउँपालिका–६ मा जन्मिएका ढकाल २०७९ को निर्वाचनमा डडेल्धुराबाट पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग प्रत्यक्ष प्रतिस्पर्धा गरेर चर्चामा आएका थिए। देउवाले २५ हजार ५३४ मत ल्याउँदा ढकालले १३ हजार ४२ मत प्राप्त गरेका थिए। शिक्षा, युवा सशक्तीकरण, विकास र सुशासनका विषयमा आवाज उठाउँदै आएका ढकाल सन् २०१५ मा अमेरिकी राजदूतावासको युथ काउन्सिल सदस्य पनि रहेका थिए।
त्यसैगरी गुल्मी–२ मा अधिवक्ता गोविन्द पन्थी विजयी भएका छन्। उनले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री गोकर्ण विष्टलाई पराजित गरेका हुन्।
पन्थीले १६ हजार ९६७ मत प्राप्त गर्दा विष्टले १६ हजार ४०६ मत ल्याएका छन्। उनीहरूबीचको मतान्तर ५६१ रहेको छ। नेपाली कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले १४ हजार ४३४ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार श्रीराम महतले ३ हजार ७८ मत पाएका छन्।
गुल्मी–२ क्षेत्र एमालेका नेता गोकर्ण विष्टले झण्डै २६ वर्षदेखि जित्दै आएको क्षेत्र हो। उनले २०५६ को प्रतिनिधिसभा निर्वाचन, २०७० को संविधानसभा, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचन जितेका थिए।
विष्टलाई पराजित गरेका पन्थी नेपाल प्रहरीको डीएसपी पदबाट अवकाश प्राप्त व्यक्ति हुन्। २०३१ सालमा गुल्मीको मदाने गाउँपालिका–७ भनभनेमा जन्मिएका उनले प्रहरी सेवाबाट अवकाशपछि अधिवक्ताका रूपमा काम गर्दै आएका थिए। प्रहरी सेवामा रहँदा उनले भिजिट भिसा र मानव तस्करीसम्बन्धी अनुसन्धानमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
यसपटक गुल्मीका मतदाताले पुराना राजनीतिक अनुहारलाई भन्दा नयाँ पृष्ठभूमिका उम्मेदवारलाई रोज्दै फरक सन्देश दिएका छन्।




