काठमाडौं । भारतका चर्चित अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। भारतीय अभिनेता यशपाल शर्माले सामाजिक सञ्जालमार्फत उनको निधनको पुष्टि गरेका हुन्। अभिनेत्री रोशनी आचरेजाले पनि एनडीटीभीसँग कुराकानी गर्दै रावतको निधन भएको जानकारी दिएकी छन्। उनका अनुसार रावत लामो समयदेखि ब्लड क्यान्सरसँग जुधिरहेका थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार रावत करिब पाँच वर्षदेखि ब्लड क्यान्सरबाट पीडित थिए। उपचारपछि केही समय स्वास्थ्यमा सुधार आए पनि केही महिनाअघि क्यान्सर पुनः देखिएको थियो। मंगलबार साँझ मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उपचारका क्रममा उनले अन्तिम सास लिए। परिवारका अनुसार उनको अन्त्येष्टि बुधबार गरिनेछ।
२१ जनवरी १९५२ मा भारतको मध्य प्रदेशस्थित जबलपुरमा जन्मिएका रावतले सन् १९८८ मा प्रसारण भएको टेलिभिजन धारावाहिक ‘महाभारत’ मा अश्वत्थामाको भूमिका निभाउँदै अभिनय यात्रा सुरु गरेका थिए।
त्यसपछि उनले हिन्दी, तमिल, तेलुगुलगायत विभिन्न भाषाका फिल्ममा अभिनय गरे। तमिल र हिन्दी दुवै भाषामा बनेको ‘गजनी’ मा निभाएको खलपात्रको भूमिकाले उनलाई व्यापक लोकप्रियता दिलाएको थियो।
उनको पहिलो हिन्दी फिल्म ‘मेरी जंग’ हो। सन् २००४ मा ‘साइ’ बाट तेलुगु र सन् २००५ मा ‘थोट्टी जया’ बाट तमिल फिल्ममा डेब्यू गरेका उनले भोजपुरी, कन्नड, मलयालम, बंगाली, मराठी, ओडिया र अंग्रेजीलगायत विभिन्न भाषाका २०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्। तीमध्ये तीन नेपाली फिल्म पनि रहेका छन्।
रावतले नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ बाट डेब्यू गरेका थिए, जसमा उनले अभिनेत्री नीता ढुंगानाको बुबाको भूमिका निर्वाह गरेका थिए। त्यसपछि उनी ‘आ बाट आमा’ मा देखिएका थिए। उक्त फिल्मको सिक्वेल ‘आ बाट आमा–२’ मा पनि उनले अभिनय गरेका छन्, जुन आगामी दशैंमा प्रदर्शन हुने तयारीमा छ। उनले केही साताअघि नेपाल आएर आफ्नो भागको छायांकन सम्पन्न गरेका थिए।
रावतको निधनप्रति नेपाली कलाकार विपना थापा, नीता ढुंगाना, उषा उप्रेती, सविन श्रेष्ठ, विशाल पहारीलगायतले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनलाई लिएर एक भोजपुरीसहित तीन नेपाली फिल्म निर्माण गरेका निर्देशक चन्द्र पन्तले पनि फेसबुकमार्फत श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेका छन्।




