काठमाडौँ । नेपाली चलचित्र ‘आ बाट आमा’ आजदेखि देशभरका चलचित्र घरमा प्रदर्शनमा आएको छ। प्रदर्शनको पहिलो दिन दर्शक प्रतिक्रिया लिन काठमाडौँका विभिन्न चलचित्र भवन पुगेका अभिनेता पल शाहले चलचित्रको कथा अधिकांश नेपालीको जीवन र पारिवारिक परिवेशसँग जोडिएको बताएका छन्।

अभिनेता शाहले चलचित्रमा आफूले चाहेको जस्तो भूमिका निर्वाह गर्ने अवसर पाएको उल्लेख गर्दै सोही कारण आफ्नो भूमिकामा सक्दो मेहनत गरेको बताए। उनले कथाबारे धेरै खुलाउन नमिल्ने बताउँदै दर्शकले चलचित्र हेरेपछि अरूलाई पनि हेर्न सिफारिस गर्नेमा विश्वास व्यक्त गरे।

ADVERTISEMENT

“मैले आफ्नो भूमिकाबारे धेरै भन्न मिल्दैन, किनकि त्यसले कथाको रहस्य बाहिरिने डर हुन्छ। तर, मैले चाहेको जस्तो भूमिका गर्न पाएकाले निकै मेहनत गरेको छु। यो चलचित्र हाम्रो परिवार र गाउँ–समाजकै कथा हो,” अभिनेता शाहले भने।

ADVERTISEMENT

चलचित्रमा पल शाहसँगै विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट र बेगम नेपालीलगायत कलाकारको अभिनय रहेको छ। अभिनेत्री विपना थापाले विषयवस्तुले आकर्षित गरेकै कारण आफू चलचित्रमा जोडिएको बताइन्।

“यस चलचित्रको मुख्य आकर्षण नै यसको कथा हो। सबै कलाकार र प्राविधिक टोलीले उत्तिकै मेहनत गरेका छन्। चलचित्र हेर्न आएका दर्शकले यो आफ्नै कथा जस्तो लागेको प्रतिक्रिया दिनुभएको छ,” अभिनेत्री थापाले भनिन्।

ADVERTISEMENT

चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्रमा अभिमन्यु निरवीले संवाद लेखन गरेका छन् भने गम्भीर विष्टले नृत्य निर्देशन गरेका छन्। चलचित्रको सङ्गीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले तयार पारेका हुन्।