चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड (चन्द्रागिरि साकोस) ले डिजिटल वित्तीय सेवा विस्तार, प्रविधिमैत्री सदस्य सेवा तथा वित्तीय समावेशीकरणमा पुर्‍याएको उल्लेखनीय योगदानका लागि विश्व ऋण परिषद् (World Council of Credit Unions–WOCCU) को प्रतिष्ठित ‘2026 Digital Growth Award’ प्राप्त गरेको छ।

संस्थाका अनुसार सदस्य सेवामा आधुनिक प्रविधिको प्रभावकारी प्रयोग, डिजिटल वित्तीय पहुँच विस्तार तथा नवीन सेवाको विकासमा गरेको योगदानको मूल्याङ्कन गर्दै WOCCU ले यो अन्तर्राष्ट्रिय सम्मान प्रदान गरेको हो। यस उपलब्धिले नेपाली सहकारी क्षेत्रमा डिजिटल रूपान्तरणलाई अन्तर्राष्ट्रिय स्तरमा समेत स्थापित गर्न महत्वपूर्ण योगदान पुगेको संस्थाको विश्वास छ।

संस्थाले डिजिटल नवप्रवर्तनमार्फत सदस्यलाई सहज, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै यस सफलताका लागि WOCCU, नेफ्स्कून, एशियाली ऋण महासंघ (ACCU), राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, विभिन्न सहकारी संस्था, प्रविधि साझेदार, सञ्चारमाध्यम, सदस्य, सञ्चालक समिति, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।

ADVERTISEMENT

यसैबीच, साउन १८ गते आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाले NFC प्रविधिमा आधारित डिजिटल यात्रा कार्डकिसान नेट सेवा को औपचारिक शुभारम्भ गरेको छ।

ADVERTISEMENT

सदस्यता परिचयपत्र र यात्रा कार्डको दोहोरो सुविधा भएको डिजिटल यात्रा कार्डमार्फत सार्वजनिक यातायातमा छिटो, सुरक्षित तथा नगदरहित (Cashless) भुक्तानी गर्न सकिने संस्थाले जनाएको छ।

त्यसैगरी, किसान नेट सेवामार्फत सदस्यलाई सहज, भरपर्दो तथा समुदायमैत्री इन्टरनेट सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

चन्द्रागिरि साकोसले आगामी दिनमा पनि डिजिटल प्रविधिमा आधारित सदस्यकेन्द्रित सेवा विस्तारलाई निरन्तरता दिँदै आधुनिक, प्रभावकारी र सहज वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। संस्थाका अनुसार डिजिटल रूपान्तरण, वित्तीय समावेशीकरण तथा प्रविधिमैत्री सेवाको विकासलाई प्राथमिकतामा राख्दै सदस्यको आवश्यकता अनुरूप नवीन सेवा विस्तार गरिनेछ।