काठमाडौं — नेपालमा अघिल्लो वर्षको तुलनामा यस वर्ष डेंगु संक्रमण करिब ५० प्रतिशतले घटेको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार पछिल्ला केही वर्षयता डेंगु संक्रमणदर क्रमशः घट्दो अवस्थामा रहेको छ।

किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार गत वर्ष यही अवधिमा देशभर ५३० जनामा डेंगु पुष्टि भएकोमा यस वर्ष हालसम्म २९२ जनामा मात्र संक्रमण देखिएको छ।

ADVERTISEMENT

इडिसिडीका तथ्यांकअनुसार सन् २०२२ मा ५४ हजार ७८४, २०२३ मा ५२ हजार ७९०, २०२४ मा ४१ हजार ८६५ र २०२५ मा आठ हजार ९३२ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो।

ADVERTISEMENT

संक्रमणसँगै डेंगुबाट हुने मृत्युदर पनि घटेको छ। यस वर्ष हालसम्म दुई जनाको मृत्यु भएको छ। सन् २०२२ मा ८८, २०२३ मा २०, २०२४ मा १५ र २०२५ मा ६ जनाको डेंगुका कारण मृत्यु भएको इडिसिडीको तथ्यांक छ। डा. दाहालका अनुसार मृत्यु हुने अधिकांशमा मुटुरोग, मधुमेहजस्ता दीर्घरोग वा कमजोर रोग प्रतिरोधात्मक क्षमता रहेको पाइएको छ।

ADVERTISEMENT

पाँच वर्षको तथ्यांकअनुसार सात प्रदेशमध्ये मधेश प्रदेशमा डेंगु संक्रमितको संख्या सबैभन्दा कम रहेको छ। संक्रमण घटे पनि मनसुनका कारण जोखिम भने अझै कायम रहेको भन्दै स्वास्थ्यकर्मीहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।

सरकारले असारको अन्तिमदेखि कात्तिकसम्मलाई डेंगुको उच्च जोखिमको समय मानेर विशेष निगरानी र जनचेतना अभियान सञ्चालन गर्दै आएको छ। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले जोखिमको स्तरअनुसार स्थानीय, प्रदेश र संघीय तहबाट प्रतिकार्य गर्ने प्रणाली कार्यान्वयनमा रहेको बताए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. विमल शर्मा चालिसेले पनि संक्रमण घटे पनि जोखिम नहटेकाले सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्।